English Edition

वामदेवमाथि ‘राजनीतिक भूकम्प’ -सुदीप विश्वकर्मा


bandev-ko-rajinitiकाठमाडौं /

गत जेठ १७ गते मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओली भन्दै थिए, ‘त्यत्रो विपतको बेला सरकारले के गरेको छ भन्ने कुरा सरकारमै भएर पनि एमालेलाई थाहा भएन ।’

मञ्चमा बसेका एमाले उपाध्यक्ष बामदेव गौतमले तत्कालै जवाफ फर्काए, ‘सरकारले गरेका सबै काम पार्टीलाई थाहा छ ।’
ओलीले पनि प्रश्न उठाए, ‘खोइ यत्रो टिभी, रेडियो छन्, तिनले भन्नुपर्ने ?’

गौतम फेरि बीचमै बोले, ‘सबै चिज मन्त्रालयको वेभसाइटमा राखिदिएको छ, त्यहाँ हेर्न सकिन्छ ।’

माथिको संवादले एमाले भित्रको ठूलो भुइँचालोलाई संकेत गर्दछ । अध्यक्ष केपी ओली  र वामदेव गौतमको पछिल्लो संवादले उनीहरु बीचको सम्बन्धमा ग्रहण लागेको अनुमान गर्न दुस्कर छैन । वैशाख १२ को विनासकारी भूकम्प पछि त्यसको ठूलो राजनीतिक  पराकम्पमा एमाले उपाध्यक्ष गौतम परिसकेका छन् ।

कम्युनिष्ट आन्दोलनमा चरम अवसरवादी चरित्रको छवि बनाएका गृहमन्त्री गौतमको राजनीति पछिल्लो समय निकै उदास र मौन बन्दै गएको छ । दलहरुबीच राष्ट्रिय सहमतिको सरकारको बहस अंकुराउँदै गर्दा यता बामदेव त्यसको खिलाफमा छन् 
। 
वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष केपी ओली राष्ट्रिय सरकारको बहसलाई तिब्र रुपमा हुर्काउँदै छन् । वामदेव खाइपाइ आएको गृहमन्त्रीको जागिर जाने डरले ‘कांग्रेससँग सहकार्य तोड्न हुन्न’ भन्दै जागिर जोगाउने दौडधुपमा छन् ।

जेठ २० मा बसेको एमाले स्थायी समिति बैठकमा उनले कांग्रेसलाई बाहिर राखेर बन्ने कुनै पनि राष्ट्रिय सरकार मुलुकको लागि घातक हुने बताएका थिए । एमाले वृत्तमै गौतमको यो अभिव्यक्तिलाई  ‘पद गुम्ने डर र राजनीतिबाट पछारिने भयको  अभिव्यक्ति’ को रुपमा हेरिएको थियो ।

 ‘भूकम्पपछि तिब्र बनेको सार्वजनिक आलोचना र अलोकप्रीयताका कारण उहाँ पछिल्लो समय निकै चिन्तित हुनुहुन्छ ।’ गौतमका निजि सचिवालयका एक कर्मचारी भन्छन्, ‘पार्टी भित्र अध्यक्षले पनि त्यति महत्व दिन छाड्नु भएको छ, भेटघाट पनि पहिले जस्तो छैन ।’

नीजि सचिवलायका अनुसार गौतमले पछिल्लो समय अध्यक्ष ओलीसँग भेटेका थिए । भेटका क्रममा ओलीले राष्ट्रिय सरकारको बहसले आफ्नो राजनीतिक भविष्य अन्यौल बन्ने होकी भन्ने बारे चिन्ता गरेका थिए । आफ्नो राजनीति सकिने सन्त्रासले सताएपछि उनले ओलीसामु आफ्नो राजनीतिक भविष्यको ख्याल गर्नसमेत आग्रह गरेको ओली निकट एक नेता बताउँछन्  । 

‘राष्ट्रिय सरकारको विषयमा सैद्धान्तिक सहमति छ ।’ पार्टी सचिव योगेश भट्टराई भन्छन्, ‘उहाँ यही सरकारलाई राष्ट्रिय सरकार बनाएर जाने पक्षमा हुनुहुन्छ । उहाँले आफ्नो मत राख्नुभएको हो, त्यो झिना मसिना विवाद मात्रै हो ।’

किन लागे ओली तिर

वामदेवले पार्टी फुटाएदेखि एमाले वृत्तमा मदन भण्डारीको एउटा भनाई चर्चित छ, ‘केपी ओलीको घाँटीदेखि तल काम छैन । बामदेवको घाँटीदेखि माथी काम छैन ।’ यो भनाईलाई एमाले कार्यकर्ताले वामदेवको बुद्धि नै छैन भनेर व्याख्यासमेत गर्ने गर्छन् । ५४ सालमा पार्टी फुटाएर विवादीत बनेका वामदेव एमालेको नवौं महाधिबेशन तिर किङ्गमेकर भनेर चिनिए । किङ्गमेकरको रहस्यको गर्भ भने कसैले खोतलेनन् ।

 महाधिबेशन अघि वामदेव चरम आर्थिक संकटमा थिए ।  सुधीर बस्नेतको ओरियन्टल फाइनान्समा चार करोड फसेपछि वामदेव छट्पटिएका थिए । ओलीका विश्वास पात्र विष्णु पौडेलको सहयोगमा आर्थिक संकट मोचन गर्ने सर्तसहित ओली क्याम्पमा छिरेका थिए ।  ओली–नेपालको पोलिटिकल स्वार्थहरु जुनसुकै बेला डाइभर्ट हुन सक्ने  सम्भावित खतरालाई उनको आर्थिक संकटले देख्न सकेन । स्रोतका अनुसार उनको करोडौं रकम श्रीमतीले ढुकुटीमा सिद्धाएकी थिइन् ।

त्यसो त खास एमालेहरु वामदेवलाई रुचाउँदैनन् । एमाले कार्यकर्ता नै उनलाई  अवसवारवादी ताराको रुपमा चिनाउँछन् । ‘अवसरको लागि वामदेव जे पनि गर्न तयार हुन्छन् ।’ एमाले विद्यार्थी फाँटका एक नेता भन्छन्, ‘उनको यही चरित्रले राजनीतिक भविष्य नै पत्तासाफ बन्दैछ । नवौं महाधिबेशनपछि गौतम वरियता  र पदीय हैसियतमा चौथो तहमा छन् । चौथो तहमा भएपनि गौतम पेन्डुलम नेता जस्तै छन् । उनको पक्षमा लाग्ने अधिकांश नेता कार्यकर्ता गौतमकै कार्यशैलीको खिलाफमा छन् ।

निरिह दर्शक मात्रै

विनाशकारी भूकम्पको साता नबित्दै एमाले महासचिव ईश्वर पोखरेल माधव नेपाल निवास तिर लागे । पार्टी समिकरण बदल्ने सुपारी बोकेर नेपाल निवास छिरेका पोखरेलले लामो संवाद गरे । ‘माधव कमरेड अघि बढ्नुपर्यो । तपाईंहरु दुईजना नमिलेसम्म पार्टी अगाडि बढ्दैन’ भन्दै माधवको मुटु छामेर पोखरेल फर्किए । माधव नेपाललाई पार्टीको कार्यवाहक अध्यक्ष बनाउने र केपी ओलीलाई प्रधानमन्त्री बनाउने खेलमा पोखरेल यतिबेला सक्रिय छन्   । 

यसरी माधवले कार्यवाहक अध्यक्ष लिए भने पोखरेलको लागि अर्को अवसरको नयाँ ढोका खुल्ने छ । आगामी महाधिबेशनको शक्तिशाली अध्यक्ष पद, महासचिव भएका कारण पनि पोखरेलको पछिल्लो निसाना बन्दै गएको छ ।
ओलीलाई प्रधानमन्त्री   र नेपाललाई पार्टीको कार्यवाहक अध्यक्ष बनाएको शक्ति बटुलेर १० औं महाधिबेशनमा अध्यक्ष पद लिने याेजनामा  छन् पोखरेल । सोही खेलको निरिह दर्शक बन्दै छन् यता वामदेव ।

 खेल्नको लागि उनीसँग खेलाडीहरु छैनन् । रबिन्द्र अधिकारी एउटा नाम मात्रैले केही गर्दैनन् । अन्य पाँच जनाको हाराहारीमा केन्द्रीय सदस्यहरु छन् । ती गुमनाम छन् । प्रदिप ज्ञवाली, शंकर पोखरेलहरु  विद्या भण्डारीलाई १० औं महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बनाउने खेलमा छन् । योगेश भट्टराई, रामकुमारी झाँक्रीहरुको पहिला प्राथमिकता झलनाथ नै हुन्  ।

समय क्रमसँगै नवौं महाधिबेशनदेखि नजिकिएको ओली–वामदेव सम्बन्ध दुर गराउँदै वरिष्ठ नेता नेपाल पार्टीको कार्यवाहक अध्यक्षको गोलपोस्ट तिर अघि बढ्दैछन् । ओलीलाई प्रधानमन्त्रीको ललिपप देखाउँदै नेपालले कार्यवाहक अध्यक्षको गोल गरे भने गौतमले हार खानेछन् ।  यसो गर्दा  नेपाल–ओली दुवैले एक अर्काको गुण तिर्नेछन् । ओली नेतृत्वमा राष्ट्रिय सरकार बनेको खण्डमा वामदेवको गृहमन्त्रीको जागिर जानेछ । 

पार्टी सञ्चालनको साँचो नेपालको हातमा पुग्यो भने गौतम पार्टी भित्रै भुमिकाविहिन ‘फोकटको पात्र’ हुनेछन् । यता सरकारी जागिरबाट रिटायर्ड, उता पार्टी भित्रको अस्तित्व हिन पात्र यी दुई सम्भावित घटनाले वामदेवलाई निकै पिरोलीरहन्छ ।

एमालेको राजनीतिमा जीवन बिताएका बामदेव समुन्द्रको बीचमा डुब्दै गरेको आफ्नै राजनीतिक भविष्यरुपी जहाज निरिह हेरिरहेका छन् । जो चाहेर पनि उत्रन सक्दैन ।
खबरडबलीबाट













Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment