English Edition

जनयुद्धमा चर्चबाट पैसा खाएकोले अहिले धर्म विवादमा

फोटो :मृगस्थलीमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै डा. देवकोटा । तस्बिर : दिनेश विक्रम शाह 
काठमाडौं: वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाले जनयुद्धमा एमाओवादीले चर्चबाट पैसा लिएकाले अहिले धर्म विवादमा परेको बताएका छन् । उनले धर्मलाई विवादमा ल्याउन नाटक रचिइरहेको दाबी गरे ।

बृहत् आध्यात्मिक परिषद् गोरक्षपीठ मृगस्थली, बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ श्रम देवघाट र ओम् वासुकीचौर गोरक्षपीठ भुवनेश्वरी कोटीहोमस्थल संरक्षण समिति बल्खुले शुक्रबार मृगस्थलीमा आयोजना गरेको संयुक्त अभिनन्दन कार्यक्रममा देवकोटाले भने, ‘आन्दोलनताका चर्चहरूले माओवादीलाई लगानी गरे । 

नेपाल सायद विश्वको एकमात्र राष्ट्र होला, जहाँ कम्युनिस्ट आन्दोलन चर्चको सहयोगले सफल भयो ।’उनले नेताहरूले राष्ट्र के हो भन्ने नबुझेको तर्क गरे । उनले थपे, ‘नेपाललाई कहिले प्रचण्डले मेरो राज्य भन्छन् कहिले ज्ञानेन्द्रले । 

यो नेपाल आखिर कसको हो ? १८ हजार मानिस मार्ने अन्धाहरू विदेशी उक्साहटमा आँखामा पट्टी बाँधिएका अवस्थामा छन् । तिनबाट देशमा केही हुनेवाला छैन । यही कारण अहिले धर्मबारे विवाद सुरु भएको हो ।’

देवकोटाले कुनै धर्म, शासक र अन्य कसैलाई पनि हस्तक्षेप नगर्ने हिन्दु धर्ममाथि किन यसरी प्रहार भइरहेको छ भनी प्रश्न गरेका थिए । उनले हिन्दु धर्म अरूजस्तो कठोर नभएको, सबै धर्मलाई उत्तिकै आदर गरिरहेको र प्रतिरोधसमेत नगरेकाले कमजोर ठानिएको बताए ।

उनले भने, ‘यो हिन्दुहरूको कमजोरी होइन, विशेषता हो । हिन्दुले कुनै धर्मको मन्दिर वा भवनको एउटा पनि इँट उप्काएका छैनन् तर अरूले किन उप्काइरहेका छन् ? ’ योगी नरहरिनाथले ४५ वर्षअघि नेपालका बारेमा बोलेको सन्दर्भ यतिबेला सार्थक भइरहेको उनको भनाइ छ । 

उनले भने, ‘नरहरिनाथले त्यतिबेलै पनि राजनीतिका कारण नेपाल धमिलो भयो भनेर नेपाल कर्मवीर पार्टी खोली नुवाकोटबाट आन्दोलन सुरु गरेका थिए । निर्भीक उनका बारेमा सहकर्मी जर्मन डाक्टरले नरहरिनाथले जति नेपाललाई गम्भीर ढंगले कसैले अध्ययन नगरेको बताएका थिए ।’

कार्यक्रममा गृहसचिव सूर्यप्रसाद सिलवालले २०५४ सालमा प्रकाशित योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ प्रकाशन गर्ने डा. स्वामी प्रपन्नाचार्य, डा. गोविन्द टन्डन, डा. घटराज भट्टराई, डा. चिन्तामणि योगी र डा. मुकुन्दराज अर्याललाई अभिनन्दन गरेका थिए ।

श्रोत अन्नपुर्ण पोस्ट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment