English Edition

उपत्यकामा डिलक्स टयाक्सी गुडाउने तयारी


कृष्ण रिजाल

उपत्यकाका सडकमा अब ‘सुपर डिलक्स’ र ‘डिलक्स’ टयाक्सी गुड्ने भएका छन् । सर्वसाधारण यात्रु तथा पर्यटकलाई छनोटको अवसर दिन भन्दै सरकारले काठमाडौंमा तीनथरी टयाक्सी सञ्चालनको तयारी थालेको हो ।

भौतिक पूर्वाधार तथा यातायातसचिव तुलसीप्रसाद सिटौलाले उपत्यकामा हाल चलिरहेका साधारण टयाक्सीसहित सुपर डिलक्स र डिलक्स टयाक्सी गुड्ने बताए । छिटै नयाँ टयाक्सी दर्ता फुकुवा गर्ने निर्णय भएको उनले जानकारी दिए ।
पुराना टयाक्सी विस्थापन गर्ने तथा डिलक्ससहितको नयाँ टयाक्सी दर्ता खुलाउने मन्त्रीस्तरीय निर्णय भएको हो । सचिव सिटौलाका अनुसार २० वर्षअघिका एक हजार आठ सय ५० वटा टयाक्सीलाई नयाँ टयाक्सीले विस्थापन गरिनेछ । भूकम्पपीडितलाई पाँच सयवटा नयाँ टयाक्सी सञ्चालनको अनुमति दिइने पनि उनले जानकारी दिए ।

यसैगरी पाँच सयवटा डिलक्स र पाँच सयवटा सुपर डिलक्स टयाक्सी सञ्चालनको अनुमति दिइने निर्णय भएको सिटौलाले जानकारी दिए । अहिले कार्यविधि निर्माण भइरहेको उल्लेख गर्दै उनले छिटै नै नयाँ टयाक्सी सञ्चालनमा आउने बताए ।

भूकम्पपीडितका लागि तोकिएको तथा डिलक्स र सुपर डिलक्स टयाक्सी सञ्चालनका लागि जुनसकै ब्रान्डका गाडी ल्याउन सकिने सचिव सिटौलाले बताए । ‘तोकिएको क्षमता भएका जुनसुकै ब्रान्डका गाडी ल्याउन सकिन्छ,’ उनले भने, ‘यात्रुले छनोटको सुविधा लिँदै आरामदायी यात्रा गर्न पाऊन् भन्ने हाम्रो चाहना हो ।’

अहिले पुराना टयाक्सी विस्थापनको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुधन बुर्लाकोटीले बताए । ‘कम्तीमा २० वर्ष पुराना टयाक्सीले पुरानै नम्बरमा नयाँ टयाक्सी ल्याएर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘केही टयाक्सी विस्थापन पनि भइसकेका छन् ।’

पुराना टयाक्सी विस्थापन गर्न ल्याइने नयाँ टयाक्सी आठ सय वा सोभन्दा बढी सिसीको हुनुपर्ने प्रावधान छ । तर, ब्रान्ड भने जुनसुकै हुन सक्ने बुर्लाकोटीले बताए ।

भूकम्पपीडितलाई नयाँ टयाक्सी सञ्चालनको अनुमति दिन तथा सुपर डिलक्स र डिलक्स टयाक्सी सञ्चालनको कार्यविधि बनिरहेको विभागका महानिर्देशक बुर्लाकोटीले जानकारी दिए । ‘कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेको छ । यही साता मन्त्रालयमा पठाउनेछौँ,’ उनले भने, ‘मन्त्रालयबाट कार्यविधि पारित भएलगत्तै भूकम्पपीडितलाई टयाक्सी सञ्चालनका लागि दर्ता गर्न सूचनामार्फत आह्वान गरिनेछ ।’ मागभन्दा बढी निवेदन आएमा गोलाप्रथाद्वारा छनोट गरी टयाक्सी सञ्चालनको अनुमति दिइनेछ ।
कार्यविधि पारित भएपछि सुपर डिलक्स र डिलक्स टयाक्सी सञ्चालनका लागि समेत आह्वान गरिने महानिर्देशक बुर्लाकोटीले बताए । तर, यस्तो टयाक्सी सञ्चालनको अनुमति भने व्यक्तिलाई दिइनेछैन । ‘कुनै संस्था वा कम्पनीलाई डिलक्स र सुपर डिलक्स टयाक्सी सञ्चालन गर्न दिइनेछ,’ उनले भने, ‘यसका लागि कार्यविधि बनिरहेको छ ।’
डिलक्स तथा सुपर डिलक्स टयाक्सीले सवारी भाडा साधारणसरह लिने वा बढी लिने भन्ने विषयमा भने टुंगो लागेको छैन । कार्यविधि मै भाडाको विषय पनि समेटिने मन्त्रालयले जनाएको छ ।
नयाँ पत्रिका
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment