English Edition

झरनाको फिटनेस रहस्य, योगा र पानी

एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी झरना आफू बाहिरभन्दा भित्र अझै सुन्दर भएको दाबी गर्छिन् । ‘म मनको सुन्दरताको पक्षमा छु । म सधैँ खुसी रहने गर्दछु । मनको खुसी मुहारमा झल्किन्छ,’ आफू सुन्दरी देखिनुको ‘राज’ पनि यसमै रहेको बताउँदै उनी भन्छिन्, ‘सधैँ सकारात्मक सोच राख्ने, सबैको भलो चाहने र सुविचार मात्र गर्‍यो भने त्यसै राम्री भइन्छ ।’

झरना सुन्दरता हेराइमा भर पर्ने बताउँछिन् । ‘कसले कुन नजरले हेर्छ, त्यसमा भर पर्छ,’ उनी भन्छिन्, ‘सुन्दरता मापन गर्ने कुनै यन्त्र या मापदण्ड छैन । त्यसैले यो सब हेराइमा भर पर्छ ।’ फिल्ममा अझ राम्री देखिनका लागि मेकअपको प्रयोग गर्ने गरे पनि रियलमा भने सजिएर हिँड्न मन पर्दैन रे उनलाई ।

‘मलाई नेचुरल ब्युटी नै मन पर्छ । त्यसैले बाहिर हिँड्दा धेरै सजिने गरेकी छैनँ,’ उनी भन्छिन्, ‘सुटिङमा त क्यारेक्टरअनुसारको ड्ेरसअप र मेकअप गर्नुपर्छ । तर, मलाई बाहिर विनामेकअपै हिँड्न मन पर्छ ।’ मेकअप प्रसाधनमा पनि उनको उत्तिसाह्रो ‘इन्ट्रेस्ट’ छैन । गर्मीको वेला घामबाट बच्न हल्का सनलोसन लगाउने गरे पनि अन्य कस्मेटिक आइटमको भने उनी खासै प्रयोग गर्दिनन् । गाजल भने उनको फेभरेट कस्मेटिक हो । ‘मलाई गाजल निकै मन पर्छ,’ उनी भन्छिन्, ‘त्यसैले हम्मेसी गाजल लगाउन छुटाउँदिनँ ।’

स्वस्थ रहिरहनका लागि झरनाले हरेक दिन योगा गर्ने गरेकी छिन् । बिहान सात बजे उठ्ने गरेकी उनी झन्डै आधा घन्टा योगा गर्छिन् । मर्निङवाक गर्ने बानी भने छैन उनको । ‘म घरमै योगा गर्छु । मर्निङवाक गर्ने बानी छैन,’ उनी भन्छिन्, ‘मर्निङवाक गर्न जाँदा कुकुरले लखेट्लान् भन्ने डर लाग्छ । त्यसैले त्यो बानी बसेको छैन ।’

हरदम फिट एन्ट फाइन रहनका लागि खानपिनमा पनि उत्तिकै ध्यान दिने गरेकी छिन् उनले । मद्यपान र धुम्रपानबाट टाढै रहेकी झरना दिनमा सात लिटरभन्दा बढी पानी पिउने गरेको बताउँछिन् । ‘म पानी म्याक्सिमम पिउँछु,’ उनी भन्छिन्, ‘पानीले स्किन क्लिन राख्नुका साथै रोग र अल्छी लाग्नबाट बचाउँछ ।’

पहिला उनी जिम गर्नका लागि दिनहुँ नै गौशालास्थित स्व. श्रीकृष्ण श्रेष्ठको फिटनेस सेन्टर जाने गर्थिन् । तर, पछिल्लो समय उनी हप्तामा दुई–तीनचोटि लाजिम्पाटस्थित स्टेप फिटनेस क्लब जाने गर्दछिन् । त्यहाँ एरोबिक्स, जिम, जुम्बालगायतका हल्का एक्सरसाइज गर्ने गरेको उनी बताउँछिन् ।

राति एघार बजेसम्म सुतिसक्ने बानी छ उनको । ‘नेट चलाउने, टिभी हेर्ने, किताब पढ्नेलगायतका कामले कसोकसो एघार बजिहाल्छ । त्यसपछि मात्रै सुत्छु,’ झरना भन्छिन्, ‘अलि छिटो सुत्ने बानी बसाल्ने कोसिस गरेकी छु । तर, अहिलेसम्म सफल भएकी छैनँ ।’

पछिल्लो समय उनी फिल्म सुटिङमा व्यस्त छैनन् । भूकम्पपछिका दिनमा राहत संकलन तथा वितरण कार्यमा लागेकी उनी आफूले निर्देशन गर्न लागेको ए मेरो हजुर–२ को सुटिङ पनि केही पर सरेको बताउँछिन् । अबको केही दिनमा गीत रेकर्डिङ गर्न लागेकी म्युजिक भिडियोमा भने व्यस्त भई नै रहेकी छिन् ।

हाल ५१ किलोकी झरनालाई आफ्नो तौल अलि बढाउन पाए हुन्थ्यो भन्ने लागेको रहेछ । ‘५५ सम्म हुन पाए हुन्थ्यो भन्ने लाग्छ,’ भगवान्को कृपाले अहिलेसम्म कुनै पनि रोग नलागेको बताउँदै उनी भन्छिन्, ‘अहिलेसम्म कुनै औषधि खानुपरेको छैन । सधैँ यस्तै स्वस्थ भइरहन चाहन्छु ।’

पहिला हरेक साउन महिनामा व्रत बस्दै आएकी झरनाले यसपाली भने व्रत राखेकी छैनन् । उनी भन्छिन्, ‘पहिलाका वर्षमा साउने सोमबारको व्रत लिने गरेकी थिएँ । तर, यसपाली भने मैले सन्तोषी माताको व्रत लिएकी छु । त्यसैले धेरै भार पर्छ भनेर सोमबारको व्रत लिइनँ ।’ एक सातामा दुई दिन व्रत बस्न त्यति व्यावहारिक नभएको उनले बताइन् ।

‘मनको शान्ति र दीर्घ जीवनका लागि व्रत राखेकी हुँ,’ उनी भन्छिन्, ‘व्रत बसेर भगवान्ले केही दिन्छन् भन्ने चाहना मेरो छैन । मनको शान्ति र दीर्घ जीवनका लागि व्रत बस्ने गरेकी छु ।’ भगवान्ले आफ्ना सबै इच्छा पूरा गरिदिएकाले उनी आफूलाई निकै भाग्यमानी ठान्छिन् । ‘मलाई नपुग्दो, असन्तोष केही छैन । मेरा हरेक इच्छा, चाहना पूरा भएका छन्,’ उनी भन्छिन्, ‘तर पनि कहिलेकाहीँ मन भड्किन सक्छ, त्यसैले व्रत लिने गरेकी हुँ ।’

तीजको व्रत भने बस्ने योजना उनको छ । ‘पहिलादेखि नै बसिआएकी छु । त्यसैले तीजको व्रत भने कसैगरी छुटाउँदिनँ,’ झरना भन्छिन्, ‘व्रत बस्नाले मन शान्त र खुसी हुन्छ । मन खुसी भएपछि तन त्यतिकै राम्रो हुन्छ ।’
नयाँ पत्रिका

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment