English Edition

थाहै नपाई मन्त्री

डा.मथुरा श्रेष्ठडा.मथुरा श्रेष्ठ
जनतामा ज्यादै असन्तुष्टि थियो। कांग्रेस–कम्युनिस्ट मिल्नुपर्छ भन्नेमा थिए, उनीहरू। गणेशमान सिंह नजरबन्दमा थिए भने धेरै नेता जेलजीवन भोगिरहेका थिए। संयुक्त मोर्चा बनेपछि २०४६ सालको आन्दोलन सुरु भयो।
त्यही बेला टिचिङ अस्पतालबाट पक्राउ परे- डा.मथुरा श्रेष्ठ।
२०४७ साल वैशाखमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार घोषणा भयो। स्वास्थ्य मन्त्रीमा श्रेष्ठकै नाम थियो, तर उनैलाई थाहा थिएन। नसोधी मन्त्रिपरिषद्मा नाम घोषणा गरिएकोमा उनले असहमति जनाए। उनलाई फकाउन कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी घरमै पुगे।

मनमोहनले फकाउँदै भनेछन्, 'भाइ र बुबालाई सोधेकाले मान्नुहुन्छ जस्तो लागेको थियो। अब जानैपर्छ, नत्र किन गएन भनेर जनताले प्रश्न गर्छन्। मन्त्रिमण्डललाई पनि अप्ठ्यारो पर्छ।'

आनाकानी गरिरहेका श्रेष्ठ बल्ल सपथका लागि तयार भए।

मन्त्री हुनुअघि नै न्युयोर्क टाइम्सले उनको अन्तर्वार्ता लिन भ्याइसकेको थियो। भूमिगत अवस्थामा टिचिङ अस्पतालबाटै दिइएको अन्तर्वार्तामा सोधिएको थियो, 'तपाईं मन्त्री बन्ने हल्ला छ नि?'

'मन्त्री बन्दिनँ। आई वील बी टेल टि्वस्टर र्या दर द्यान मिनिस्टर! (मन्त्रीभन्दा मन्त्रीहरूको पुच्छर निमोठ्न चाहन्छु)।' उनको जवाफ थियो।

वार्ताकार
रोल्पामा सरकार र तत्कालीन विद्रोही माओवादीबीच युद्ध मच्चिएको थियो। नागरिक समाजको तर्फबाट श्रेष्ठको नेतृत्वमा सुदीप पाठकलगायत आठ जनाको समूह पहिलोपटक माओवादीलाई भेट्न गयो। 'यहाँबाट गृहमन्त्रीलाई जानकारी गराएर चिठी लिएरै गएका थियौं। तर, दाङ पुग्दा रोकिनुपर्योक,' उनी त्यो संकटको क्षण सम्भि्कन्छन्। सुरक्षामा खटिएकाहरूले जाँचेजस्तो गरेर अरूले नसुन्ने गरी निकै थर्काउँथे। 'शान्ति प्रक्रियाका लागि हिँडेको होइन? तपाईंहरूले खोइ के काम गर्नु भो! हाम्रा पनि जहान–बच्चा छन्। छिटो मिलाउनुस्' भन्दै आक्रोश पोख्थे। नेपालगन्ज, पोखरा, रोल्पा, दाङलगायत पूर्वका विभिन्न जिल्ला छिचोलेका अनुभव छ, उनीसँग। वार्ताकै लागि दिल्ली, श्रीलंका, चेन्नई, बैंकक पुगेका छन्।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पहल सुरु गर्नेमध्ये उनी पनि एक हुन्।

वार्ताकै क्रममा रोल्पा पुग्दाको एउटा दृश्यले भने अहिले पनि उनको मनमा झस्का हान्छ। 'डाँडामा घाँस काटिरहेकी एक महिलाको काँधमा बन्दुक थियो। साथमा सानो बच्चा। आफ्नै आँखाले यो विवशता देख्दा छक्क परेको थिएँ,' चस्मा फुकाल्दै उनले सम्भि्कए।

शान्ति सम्झौता भयो। संविधानसभाको चुनाव पनि भयो। पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतका प्रधानमन्त्री उनलाई भेट्न पुगेका थिए। 'आजभोलि कोही आउँदैनन्। देशको हितमा काम गर्ने व्यक्ति कोही छैनन्,' उनमा निराशा छ, 'यो अवस्थाले दिक्क बनाउँछ।'

विकृत बन्दै गएको देशको राजनीति र नेताहरूको बदलिएको शैली देख्दा मन दुख्ने बताउँछन्, उनी। औपचारिक कार्यक्रमतिर लगभग जान छोडिसके। पहिले–पहिले घरमै राजनीतिक सल्लाह लिन नेताहरू आउँथे। अहिले खासै आउँदैनन्। किनकि उनी ठाडो शैलीमा नेताकै अगाडि गल्ती–कमजोरी औंल्याइँदिन्छन्। 'गल्ती स्विकार्न नसकेर होला, आउन छोडिसके,' उनी सुस्केरा हाल्छन्।

फेसबुकको लत
शिरमा हिउँजस्तो केश। निलो ज्याकेट र ट्राउजर। पातलो फ्रेमको चस्मा। श्रेष्ठ उमेरले गएको फागनुबाट ८१ वर्ष लागे। जीवनको उत्तरार्द्धमा उनी भर्चुअल दुनियाँमा रमाउन थालेका छन्। स्मार्ट फोन हातमा छुट्दैन। फेसबुक चलाइबस्छन्। आफूलाई मन परेको विषयवस्तुका समाचरहरू शेयर गर्छन्। प्रतिक्रिया बुझ्छन्।

दिनभर घर वरिपरि बगैंचामा बिताउने उनमा जोस घटेको छैन। फुर्सदमा भर्याटङ तल–माथि गर्छन्, ताकि शारीरिक व्यायाम होओस्। घर वरिपरि रंगीचंगी फूल र हरिया सागपात छन्, उनकै परिश्रमको उत्पादन।

तनहुँको बन्दीपुरस्थित खड्कदेवी पाठशालाबाट उनको कखरा सुरु भएको हो। भानुभक्तको जिल्लामा जन्मिएका उनी सानैदेखि बिहान सबेरै उठेर वेदका पुस्तकहरू घोक्थे। उनको यस्तो रुचिले बाबुबाजेलाई तनावमा पारेको सम्झँदा उनी मज्जाले हाँसे।

'केटो धर्मकर्मतिर लागेर बिग्रने भयो, अब पढाउनुपर्छ' भनेरै मलाई काठमाडौं पठाइयो,' उनी सुनाउँछन्।

न्युरोड भूगोलपार्कमा रहेको जुद्धोदय स्कुलबाट उनको नयाँ शिक्षा सुरु भयो। दरबार हाइस्कुलबाट मेटि्रक पास गरे। त्यति बेला अमरबाबु बंगाली लगायतका शिक्षकहरूले पठाउने गर्थे। नेपालको प्रारम्भिक शिक्षामा बंगालीहरूको देनलाई भुल्न सक्दैनन्, उनी। 'नेपालको शिक्षामा बंगालीहरूको महŒवपूर्ण देन छ,' उनी भन्छन्।

त्यस बेलाको त्रिचन्द्र कलेज पटना युनिभर्सिटीको सम्बन्धनमा चलेको थियो। एसएलसी सकेर उनले आइएस्सी पढे, सोही कलेजमा। सातसाले आन्दोलनको रापमा विद्यार्थीहरू जुर्मुराएका थिए। उनी आफैं पनि अखिल नेपाल विद्यार्थी फेडरेसनमा आबद्ध भएकाले आन्दोलनमा सहभागी हुनुपर्थ्यो। यही कारण एक वर्ष पढाइ नै छुटाए।

२००८ सालमा भने उनले कम्युनिष्ट पार्टीको सदस्यता लिए। 'पार्टीको सबभन्दा कम उमेरको सदस्य म नै थिएँ,' उनी भन्छन्। अहिलेजस्तो सजिलो थिएन, पार्टीको सदस्यता लिन कठोर मेहनत गर्नुपर्थ्यौ। दुई वर्ष स्वयंसेवक बनेर मार्क्सवादसम्बन्धी कक्षा लिएपछि मात्र सदस्यता पाउन सकिन्थ्यो। उनले सके।

स्वास्थ्य सेवा
आइएस्सी पास गरेपछि श्रेष्ठ पढ्नका लागि आन्ध्र मेडिसिन कलेज पुगे। नेपालका एक्ला विद्यार्थी थिए, उनी। साढे पाँच वर्षको शिक्षापश्चात् सन् १९६१ मा नेपाल फर्किए। छ महिना स्वयंसेवक बनेर काम गरे।

चितवनको भरतपुरमा जंगल फाँडेर बनाइएको २५ बेडको अस्पताल थियो। सोही अस्पतालमा स्यंवसेवक मेडिकल अफिसर इन्चार्जका रूपमा काम गर्ने मौका पाए।

लोकसेवा पास गरेपछि स्याङ्जा पुगेका श्रेष्ठले झापाको भद्रपुर, गोरखा, हेटौंडालगायत नेपालका १३ जिल्ला सोही बेला भ्रमण गरिसकेका थिए।

वीर अस्पतालमा सेवारत उनलाई पछि पुनः सिनिएर मेडिकल अफिसरको रूपमा भरतपुर नै पठाइयो। अस्पतालको अवस्था हेर्न तत्कालीन राजा महेन्द्र त्यहाँ पुग्दा श्रेष्ठले नेपालको स्वास्थ्य अवस्थाबारे गरेको अनुसन्धान विस्तारमा बताएका थिए। 'मेरो त्यो अनुसन्धानबाट राजा निकै खुसी र प्रभावित भए,' उनी सम्भि्कन्छन्।

स्वास्थ्य सेवाबारे अध्ययनकै क्रममा बैंकक, जापान, दक्षिणकोरिया, भारतका विभिन्न ठाउँ पुगेका छन्, उनी। टिबी र छातीसम्बन्धी रोगबारे अध्ययन–अनुसन्धान गर्ने मौका पाए। त्यसपछि थप अध्ययनका लागि इंग्ल्यान्ड गएका उनी फर्केर आएपछि त्रिवि शिक्षण अस्पतालमा पहिलो मेडिकल प्रोफेसर बन्न पुगे।

नेपालको स्वास्थ्य सेवामा नयाँ पाठ्यक्रम लागू गराउन श्रेष्ठको पनि भूमिका छ। लामो समय चिकित्सा सेवामै बिताएका उनले महाराजगन्जस्थित आफ्नै घरमा एकान्त जीवन बिताइरहेका छन्। 
भाषा शर्मा/ नागरिक दैनिकबाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment