नवलपरासी । भूमि सुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाले संविधान निर्माण गरेर सरकार छाड्न आतुर रहेको बताएका छन । शुक्रबार नवलपरासीको कावासोतीका मालपोत कार्यालयको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
उनले यो सरकार संविधान जारी गर्न प्रतिबद्ध रहेकोप्रति जोड दिंदै सरकार संविधान जारी गर्न आतुर रहेको बताए । त्यस्तै उनले सरकार छाड्दै गर्दा भूमिहिन सुकुम्बासीहरुलाई कहिल्यै समस्या नआउने गरी काम टुंग्याउने गरी काम अगाडि बढाएको बताए ।
त्यस्तै भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाले नवलपरासी सहित ७५ वटै जिल्लामा वैज्ञानिक भूउपयोग नीति अनुसार ५ बर्ष भित्र जग्गा वर्गीकरणको काम सक्ने गरी काम थालिएको समेत बताए ।
उनले नवलपरासीको तमासपुरमा रहेका सुकुम्बासीहरुलाई तत्काल लालपूर्जा दिलाउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको अधिकारसम्पन्न आयोगलाई काम गर्न निर्देशन समेत दिए ।
त्यस्तै मन्त्री रानाले कावासोतीमा नापी कार्यालय कावासोतीको भवन बनाउनका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे । २०७१ साले असार ९ गते निर्माण सम्पन्न भएर आफ्नै कार्यालय भवनमा काम शुरु गरेको मालपोत कार्यालय कावासोतीको भवन ३ करोड ३२ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा भूमि सुधार तथा व्यवस्था मन्त्रालयका महानिर्देशक रोहित कुमार भट्टराई, नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली लगायतले बोलेका थिए ।
मालपोत कार्यालयका प्रमुख बाबुराम खनालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयका कृष्ण बहादुर बानीले कार्यालयमा भएको समस्याका बारेमा जानकारी गराएका थिए । बानीले सेवाग्राहीको मागलाई मध्यनजर राख्दै कार्यालयमा बैंकिङ प्रणाली सेवा बिस्तार गर्न आवश्यक रहेको बताए ।
भवन उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तिलक महत्त, एमाले जिल्ला अध्यक्ष एवं पूर्व सभासद रोशन बहादुर गाहा, नेपाली कांग्रेस क्षेत्रिय अध्यक्ष दुर्गा बहादुर राना, राप्रपा नेपाल नवलपरासी उपाध्यक्ष लोकनाथ लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।
0 comments :
Post a Comment