
सुभाष घिमिरे
नेपाली राजनीतिले फेरि कुनै अनपेक्षित मोड लिएन भने नेपाली कांग्रेसको आसन्न तेर्हौं महाधिवेशन नयाँ संविधान २०७२ द्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा सम्पन्न हुनेछ | प्राय: बक्ररेखामा हिंड्ने नेपाली राजनीतिको विगत भएपनि सुधारिएको वर्तमानमा यतिसम्म आशा गर्न सकिन्छ भन्ने यो पंक्तिकारलाई लाग्दछ |
संविधान घोषणा हुनासाथ प्रधानमन्त्री पदबाट राजीनामा गर्ने उद्घोष गर्नुभएका सम्माननीय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका आदरणीय सभापति सम्भवत: मुलुकको राष्ट्रप्रमुख राष्ट्रपतिको भूमिका निर्वाह गरिरहनुभएको हुनेछ | र, नेपाली कांग्रेसको महाधिवेशन उप-सभापति रामचन्द्र पौडेलको नेतृत्व र सभापतित्वमा सम्पन्न हुनेछ | कमसेकम केही समय सरलरेखामा हिंड्यो राजनीति भने सर्वाधिक संभावना त्यही नै देखिन्छ |
राष्ट्रपति हुने समेत इच्छा राख्नुभएन भनेपनि संविधान जारी भएपछि प्रधानमन्त्री सुशील कोइरालाको नेपाली इतिहासमा सुरक्षित हुने उचाइ र वहाँले प्रधानमन्त्री पदसमेत त्याग गरिसकेको स्थितिमा आगामी महाधिवेशनमा पार्टी सभापति पदका लागि वहाँको दावेदारी नहुने निश्चित छ |
अब नेतृत्वका लागि पार्टी उप-सभापति रामचन्द्र पौडेल र पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको नामले चर्चा पाउन थालेका छन् |
तनहुँको सतिस्वरा र डडेल्धुराको असीग्राम, नेपालका दुरदराजका दुई विपन्न ग्रामीण परिवेशमा जन्मिएर नेपाली राजनीतिको शिखरमा पुग्न सफल उमेरले दुई वर्ष जेठा-कान्छा नेपाली कांग्रेसका यी दुई हस्तीहरूका बीचमा फेरि तुलनात्मक टिप्पणीहरू शुरु हुन थालेका छन् | यी दुई नेताहरू मध्ये एकले आगामी तेर्हौं महाधिवेशनदेखि नेपाली कांग्रेसको बागडोर सम्हाल्ने समयले स्पष्ट संकेत गरेको छ र यी मध्येका एकले नै नेपाली कांग्रेस, नेपाली कांग्रेसप्रति आस्थावान लाखौँ कार्यकर्ताहरू र मुलुकको भविष्य निर्धारण गर्ने जिम्मा पाउने देखिन्छ |
निरङ्कुश सत्ताका विरुद्दको सम्झौताहीन संघर्षमा अनवरत संघर्षरत यी दुबैजना नेताहरू अभिनन्दनका पात्र हुनुहुन्छ | मुलुकमा लोकतन्त्र स्थापना भएपछि तीन पटक प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गर्नुभएका शेरबहादुर देउवा नेपालका भाग्यमानी नेतामा गनिनुहुन्छ | उता, २०६६ आषाढ ६ मा देउवाको ४८ का विरुद्द ६१ भोट ल्याएर संसदीय दलको नेतामा निर्वाचित भएर पनि पार्टीको तर्फबाट पद्दतिको रक्षा-कवचको रूपमा प्रधानमन्त्री पदमा उम्मेदवार भएर पटक पटक पराजित भएको तीतो सहेर बस्नु भएका रामचन्द्र पौडेल हालसम्म भाग्यले कमै साथ दिएको नेतामा पर्नुहुन्छ |
नेपाली कांग्रेसभित्र यी दुबै नेताप्रति सहानुभूति राख्ने कार्यकर्ताहरुको कमी छैन | तर वर्तमानमा पौडेलको पक्षमा कार्यकर्ताहरुको समर्थन बढ्दै गएको संकेत मिल्न थालेको छ | कांग्रेसी कार्यकर्ताहरू लोकतन्त्र प्राप्तिपछिका दिनहरूमा देउवाको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दछन् | लोकतन्त्र प्राप्तिपछि देउवाको देशको अभिजात्य वर्ग र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूसंगको अस्वाभाविक निकटताका कारण नेपाली कांग्रेसका आम कार्यकर्ताहरू वहाँलाई सर्वसाधारणको पहुँचभन्दा परको मान्न थालेका छन् भने आफ्नो जीवनको उर्वर डेढ दशक मनले मानेको सत्यका लागि आस्थाको बन्दी भएर जेलमा बिताउनुभएका रामचन्द्र पौडेल आफ्नो संघर्षकालीन पुरानै छवि जोगाउन सफल हुनुभएको छ | पार्टीले दिएका हरेक जिम्मेवारी उहाँले कुशलताका साथ निर्वाह गर्नु भएको छ | चारित्रिक शुद्दता, निष्ठापूर्ण समर्पण र लगनशीलता वहाँको राजनीतिक जीवनको सुन्दर पक्ष हो भन्ने यो पंक्तिकारलाई लाग्दछ |
लाखौँ कार्यकर्ताहरूको इच्छा विरुद्द पार्टी विभाजन गरेपछि धुमिल भएको आफ्नो छवि सुधार्ने प्रशस्त अवसर हुँदाहुँदै पनि देउवाले त्यसो गर्न चाहनुभएन | ६०/४० को भागबण्डालाई पार्टीभित्र नियम झैं स्थापित गराएर पार्टीलाई पार्टीभन्दा पनि एउटा संयुक्त मोर्चा जस्तो बनाउन वहाँकै हात छ | पार्टी एकीकरण पछि पनि वहाँबाट हरेक ठाउँमा चालीसको हिस्सेदारी खोज्ने काम आजसम्म रोकिएको छैन | गुटमा विश्वास नगर्ने कार्यकर्ताका लागि देउवा आदर्श बन्न छोडिसक्नुभएको छ |
पार्टीभित्र सदैव भागबन्डाको राजनीति विरुद्द उभिने रामचन्द्र पौडेलको नेतृत्वबाट मात्र सही अर्थको पार्टी एकताको विश्वास गर्न सकिन्छ | भविष्यको झलक ऐना झैँ छर्लंग वहाँको विगतले नै दिइरहेको छ |
विचारको राजनीतिमा विश्वास गर्ने रामचन्द्र पौडेल भन्नुहुन्छ "जीवनको सार्थकता कुनै उद्देश्यका लागि ज्युनुमा छ | आफ्नो मातृभूमिको उचाइमा कुनै किसिमले इट्टा थप्ने लक्ष्य र त्यसका लागि चाहिने कल्पनाशीलता र कर्मठताले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ | पृथ्वीको सुन्दरतम देश नेपाल, यसमा केही सुविधा र शृंगार थपेर दुनियाँभरि छरिएका मनहरूलाई यहीं फर्किएर बसौं- बसौं बनाउने मेरो उद्देश्य रहेको छ |" साँच्चै नै संसारभर छरिएर रहेका लाखौं नेपाली मनहरूको भावना प्रतिविम्वित भएको छ वहाँको यो अभिव्यक्तिमा |
१) नेपाली कांग्रेस के भन्छ ? २) सत्याग्रह किन र कसरी ? ३) प्रजातान्त्रिक समाजवाद- एक अध्ययन, ४) आस्थाको यात्रा, ५) अभिशप्त इतिहास, ६) नयाँ परिप्रेक्ष्यमा समाजवाद र ७) कृषि क्रान्ति र समाजवाद जस्ता विचारोत्तेजक पुस्तकहरूका रचनाकार, बौद्दिक क्षमताका धनी रामचन्द्र पौडेलको नेतृत्वमा वर्तमान नयाँ परिवेशमा पार्टीले सही मार्ग अवलम्बन गर्ने आशा र भरोसा गर्न सकिन्छ |
इतिहास भजाएर मात्र आफ्नो साख जोगाउने नेता होइन पार्टी संगठनका लागि निरन्तर खट्ने नेता हुनुहुन्छ रामचन्द्र पौडेल | आँफैले भन्ने गरेजस्तै पार्टीभित्र पोथी मौरीको भूमिका छ वहाँको | साँच्चै पोथी मौरीको आवश्यकता छ आज देशलाई र नेपाली काँग्रेसलाई | कांग्रेसको लाखौ कार्यकर्ता पंक्ति एउटा स्पष्ट विचार भएको आदर्शवान नेताको खोजीमा छ जसको विचार, बोली र व्यवहारमा विश्वस्त हुन सकियोस |
देशले अब स्वचालित नेता खोजेको छ, संचालित होइन | अहिलेका चर्चित अनुहारहरुमध्ये पौडेल नै त्यस्तो अनुहार हो जहाँ कुनै दाग लागेको छैन | देशले खोजेको जस्तो असल, कुशल, क्षमतावान र आदर्शवान नेतालाई पार्टी नेतृत्वको जिम्मेवारी दिएर पठाउनु कांग्रेसको यो महाधिवेशनको जिम्मेवारी पनि हो |
उप-प्रधानमन्त्री, पार्टी उप-सभापतिसम्मको जिम्मेवारी पाएपनि आफ्नो दृष्टिकोण अनुसार राष्ट्र र पार्टी हाँक्ने प्रधानमन्त्री वा पार्टी सभापति बन्ने अवसर रामचन्द्र पौडेलले पाउनुभएको छैन | यसपटक वहाँलाई पार्टीको बागडोर सुम्पेर वहाँले पार्टीप्रति आजीवन पुर्याउनुभएको निष्ठापूर्ण योगदानको कदर गर्ने बेला आएको छ |
(लेखक नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका निवर्तमान सभापति हुन् |)
0 comments :
Post a Comment