English Edition

लालबाबुले एमाले नेतालाई बाँडे ६ हजारको लड्डु

- मोहन बास्तोला

CPN UML Leader Lalbabu Pandit
लालबाबु भन्छन् ‘ओलीलाई खुवाउन पाईंन, अब राष्ट्रपतिलाई खुवाउँछु’
काठमाडौँः लामो समयपछि नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन अघि मुख्यालय बल्खुमा बस्यो । केन्द्रीय कमिटी बैठमा के–कस्ता एजेण्डा उठाउने भन्ने गृहकार्यमा अधिकांश केन्द्रीय सदस्य व्यस्त थिए । केही सदस्य नेतृत्वको आलोचना गर्ने तारतम्य मिलाउँदै थिए भने केही सदस्य चाहिँ आरोपको कसरी बचाउ गर्ने भन्ने ध्याउन्नमा थिए ।
बैठकमा आफ्ना भनाई रोमाञ्चक तरिकाले राख्ने तयारीसहित केन्द्रीय सदस्य खेस्रा तयार गर्न व्यस्त थिए । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भने अर्कै चटारोले थियो । करीब १२ केजी लड्डु बोकेर एमाले मुख्यालय पुगेका मन्त्री पण्डितलाई बैठकमा सदस्यले के माुाद्धा उठाउलान र त्यसको जवाफ कसले कस्तो फर्काउला भन्ने ध्यान खासै थिएन ।
बल्खुको खुला चौरमा पाल टाँगेर बैठकमा सहभागी एमालेका पौने तीन सय केन्द्रीय सदस्यलाई कसरी नछुटाई लड्डु बाँड्ने भन्ने चिन्ताले चाहिँ उनलाई छट्पटी भएको थियो ।
व्यस्थापिका संसदले निजामति सेवा ऐन चौंथो संशोधन विधेयक राष्ट्रपति डा. रामबरण यादवले लालमोहर लगाएपछि लालबाबु लडडु बाड्ने योजनासहित बैठक स्थल पुगेका थिए । असार २५ मा संसद्बाट पारित भई असार २९ मा राष्ट्रपतिले लालमोहर लगाएको खुशीयालीमा लड्डु बाँड्न पाएकोमा उनी निकै खुशी भए ।
‘वर्षदिनको निरन्तर प्रयासपछि संसदको बहुमतबाट पारित भएको उक्त विधेयक असार २९ मा राष्ट्रपति डा. रामबरण यादवले लालमोहर लगाएपछि ऐनका रुपमा लागू भयो,’ मन्त्री पण्डितले भने, ‘त्यसको खुशीयालीमा एमालेको तर्फबाट मन्त्री भएको नाताले सबै केन्द्रीय सदस्यलाई लड्डु बाँडेको हुँ ।’ उनले एक–एक जनालाई भेटेर दिँदा समय लाग्ने भएकाले बैठकमै बाँड्ने योजना बनाएको र त्यही अवसरमा तीन सय लड्डु बाँडेको बताए ।
‘निजामति सेवाका कर्मचारीले विदेशी नागरिकता–डिभी पिआर लिन नपाउने व्यवस्थासहितको निजामति सेवा ऐन चौंथो संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको दिन पनि मैले हर्षित हुँदै मन्त्रिपरिषद् बैठकमै वर्फी बाँडेको थिएँ,’ पण्डितले भने, ‘एमालेका साथीहरुले पार्टीकै गरिमा बढाएको भन्दै लड्डु खुवाउनु पर्छ भन्नुभएको थियो, त्यही भएर खुवाएको हुँ ।’
पहिलो लड्डु ओलीलाई खुवाउने योजना अधुरै
पहिलो लड्डु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खुवाउने योजना अफल भएकोमा लालबाबुले केही खिन्नता प्रकट गरेँ । ‘पहिलो लड्डु पार्टी अध्यक्षलाई मेरै हातबाट खुवाउने योजना थियो,’ उनले भने, ‘त्यो दिन उहाँ हतारमा भएकाले बैठक सकेर पत्तै नपाई बल्खुबाट बाहिरिनु भएछ, त्यसैले पहिलो लड्डु उहाँलाई खुवाउँन सकिन् ।’
पहिलो लड्डु महासचिवले खाए
पण्डितले ओलीको अनुपस्थितिमा पहिलो लड्डु महासचिव ईश्वर पोख्रेललाई खुवाएको बताए । ‘अध्यक्षको अनुपस्थितिमा मैले पहिलो लड्डु मेरै हातले महासचिव ईश्वर पोख्रेललाई खुवाएँ,’ उनले भने, ‘सुगरको विरामी भए पनि पार्टीकै गरिमा राख्ने काम गरेको उपलक्ष्यमा दिनुभएको लड्डु म खान्छु भन्दै मेरै हातबाट खानुभयो र मलाई पनि खुवाउनुभयो ।’ उनले बल्खुमा मात्र तीन सय लड्डु बाँडेको बताए । ‘सबै नेता र सदस्यले प्रशंसा गर्नुभयो, निकै ठूलो काम गरेको अनुभूति त्यतिबेला भयो,’ उनले भने ।
लड्डु खाएर खनालले गरे प्रशंसा
एमाले मुख्यालयमै रहेको एमाले पूर्वअध्यक्ष झलनाथ खनालले पनि लालबाबुकै हातबाट लड्डु खाएर उनको प्रशंसा गरे । ‘तपाईँले पार्टीको गरिमा बचाउनु भएको छ, तपाईँलाई मन्त्री बनाएकोमा मलाई गौरव लागेको छ,’ खनालका भनाई उध्रित गर्दै लालबाबुले भने, ‘सबै मन्त्रीले यसैगरी पार्टीको गरिमा राखे हाम्रो र पार्टीको शीर उचो हुने थियो ।’
एमालेलाई ६ हजारको लड्डु
लालबाबुले एमाले मुख्यालयमा मात्र करीब छ हजारको लड्डु बाँडेको बताए । ‘दुई सय ७५ को हाराहारीमा केन्द्रीय सदस्य भएकाले सबै सदस्यलाई लड्डु खुवाउने योजनाले मैले तीन सय लड्डु किनेको थिएँ,’ लालबाबुले भने, ‘मेरो सचिवालयले १२ केजी लड्डु ल्याएको भनेको छ, त्यसको मूल्य ६ हजार जति पर्नजान्छ । ठ्याक्कै चाहिँ मेरो हातमा विल आएपछि भनौँला ।’
राष्ट्रपतिलाई पनि लड्डु खुवाउने योजना
लालबाबुले राष्ट्रपति रामबरण यादवलाई पनि लड्डु खुवाउने योजना भएको बताए । ‘पहिला पनि सम्माननीय राष्ट्रपतिज्युसँग निजामति सेवा ऐन चौंथो संशोधन विधेयकका बारेमा निकै लामो कुराकानी भएको थियो,’ लालबाबुले भने, ‘उहाँ त्यतिबेला नै सकारात्मक हुनुहुन्थ्यो, उहाँले असार २९ मा त्यो विधेयक प्रमाणिकरण गरेर प्रमाणित गर्नुभयो । म हर्षित छु, उहाँलाई पनि लड्डु खुवाउने योजना छ, समय मिलेको छैन ।’ लालबाबुले छिट्टै राष्ट्रपतिलाई पनि लड्डु खुवाउने योजना सुनाए ।
नयाँपेजबाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment