![]() |
| Add caption |
टोप अस्लामी
१. मानव समाज राजनीतिबाट अछुतो रहन सक्तैन । समाजमा निर्माण, ध्वंश फेरि निर्माण, प्रगति उन्नति, समानता, अपनत्व र स्वामित्व जस्ता मानव चेतना र यस जगतका धेरै पक्ष राजनीतिसंग गाँसिएको हुन्छ । वास्तवमा मानव जगतभित्र राजनीतिले धेरै अर्थ राखेको
हुन्छ । समस्त मानव र मानव स्वभाव, भौगोलिक परिधि लगायत सबै पक्षलाई राजनीति र त्यससंगै अन्योन्याश्रित विचारले नेतृत्व गरीरहेको हुन्छ ।
२. नेपालको सन्दर्भमा चिन्तनका हिसाबले विनिर्माणको पक्ष बलियो देखिन्छ । यहाँको राजनीतिक पक्ष बढी जसो विनिर्माण विधिबाट अगाडि बढ्न खोजेको मात्र होईन त्यसरी नै अगाडि बढ्ने प्रवृत्तिबाट निसृत देखिन्छ । यसले गर्दा मानिसहरुमा सामूहिक रुपमा यसपछि यो पक्षलाई सम्पन्न गर्ने भन्ने सन्दर्भमा व्यापक मतभिन्नता पाईन्छ । राज्य तहमा नै यसो हुनुले धेरै कुराहरु प्रतिविम्वित गर्दछ । जुन मतभेदले अन्ततः हाम्रा प्रगतिका मार्गहरु अवरुद्ध त हुन्छन् नै, त्यसका साथै हरेक पुस्ता जसले निर्माणवादी भएर कल्पन्छ र सोही सोंचलाई अगाडि बढाउन संघर्ष मै जीवन विताउनु पर्ने र निराशामा टुङ्गिनु पर्ने बाध्यता हुन्छ । यस्तो परिस्थितिले पछिल्लो पुस्तालाई प्रभाव पारीरहेको हुन्छ । तर पनि पछिल्लो पुस्ताले समाजमा व्याप्त अन्यायका विषयलाई ठम्याई फेरि संघर्षको विगुल फुक्नु पर्ने साथै तिनका महत्वपूर्ण जीवनका पर्यायहरु संघर्ष–मात्र संघर्ष हुँदै गुज्रने देखिन्छ । यहाँनिर निर्माण पक्ष सवल र सम्पन्न हुन नसक्नुमा यसलाई सामान्य भाषामा गृहकार्यको अभाव (परिस्थिति नपाकेको) भनेर टार्न त सकिएला तर समग्रमा भन्दा आत्मकेन्द्रित र निहित स्वार्थको सन्दर्भ यहाँनिर ज्यादा सान्दर्भिक हुन आउँछ । केही मानिसहरु विशेष गरी शक्तिका पूजारीहरु, शक्ति सामु पराधीनहरु र लम्पटहरु समेत र परम्परावादका हिमायतीहरुबाट वनिर्माणका कुण्ठित सन्दर्भलाई सार्थक तुल्याउन ज्यादा प्रयत्न जारी राखिएको पाईन्छ । समाज निर्माणको सन्दर्भमा यस्ता प्रवृत्तिहरु मानवभित्रका अक्षम्य कमजोरीका द्योतक हुन् । यस्ता कृयाकलापले केही व्यक्ति विशेष मात्र होईन सीमित गुट वा निश्चित समुदाय विशेष सम्वृद्ध त बन्ला, तर समाजको आमूल परिवर्तनको सपना कहिल्यै विधिवत र यथार्थ हुन सम्भव छैन ।
३. निश्यच पनि राजनीति भनेको मानव चिन्तनको उपज हो । अर्थात समय र परिस्थिति अनुसार मानव स्वयम् अनुबन्धित हुने स्थिति राजनीतिसंग सम्बन्धित छ भने राजनीतिकै कारण कतिपय समय र परिस्थिति निर्माण भएको हुन्छ । यसर्थ समाज र संसारलाई सन्तुलनमा राख्न मानिसद्वारा प्रतिपादित विचारका साथसाथै सही विधि र त्यसको अक्षरस पालना गर्नु अनिवार्य शर्त हुन आउँछ । यदि यसो हुन सकेन भने विचलन र वेथितिको परिस्थिति बन्नु स्वभाविक छ । यद्यपि यो यथार्थलाई बुद्ध दर्शनसंग पनि गाँसेर हेर्न सकिन्छ । अर्थात ठीकठीक चिन्तन, व्यवहार र विधि नै मानिसका लागि शान्ति र सुखका मार्ग हुन् । कुनै व्यक्ति, गुटका अनावश्यक महत्वाकाँक्षा र लोभ लालच हावी हुन थालेपछि समाज, संगठन, राज्य जताततै समस्या खडा हुन्छ । अर्थात बेठीक र बेढङ्गको प्रयासले परिणाम पनि बेठीक नै दिने गर्छ । मानव चिन्तनका विविध पक्ष जुन छ त्यस मध्ये संकीर्ण र अनावश्यक जबर्जस्त पक्ष हावी हुँदा त्यसले मानव समुदायमा नै समस्या खडा गरीरहेको यथार्थ हामी सबैले जाने बुझेकै कुरा हो । तथापि समस्या र समाधान भन्ने कुरा कतै अन्योन्याश्रित छ कि भन्ने त लाग्दछ तर पनि समस्या समस्या नै हो भने समाधान भनेको मानिसको उच्चाकाँक्षा (परिवर्तनका लागि चिन्तन र कार्य) लाई पुरा गर्न मार्ग प्रशस्त गर्ने माध्ययम/उपाय हो । मानव समाजमा मानिसको उत्पत्ति देखि नै समस्या र समाधान दुवै व्यहोरिदै आएको पाईन्छ । दर्शनले नै त्यस्ता विषयहरुलाई सन्तुलनमा राख्दै आएको हो । मानव चिन्तनबाट प्रतिपादित विचार र व्यवहारलाई दर्शन शास्त्रमा क्रमशः निर्माणवाद (Constructivism) र विनिर्माणवाद (Deconstructionism) भनेर आजका दिनमा व्याख्या र विश्लेषण गरिदै आएको छ ।
४. सरल परिभाषामा निर्माण भनेको समयनुसारको नयाँ विचार, वस्तुको रचना र त्यसलाई अवलम्बन गर्ने सही विधि साथै त्यसको सार्थक कार्यान्वयन भन्ने नै बुझिन्छ । अर्थात निर्माण भनेको समाजका आवश्यक्ता, आकाँक्षा र उद्देश्य समेतलाई परिपूर्ति गर्नका लागि मानिसद्वारा नै गरिदै जाने रचनात्मक साथै ठोस प्रकृया हो । समग्रमा यो बहुजनका हितमा, अल्पसंख्यकका न्यायका लागि साथै लामो समयसम्म उत्पीडन, दमन र अभावमा प्रताडितहरुलाई अगाडि बढाउन र उनीहरुलाई भुगोलको परिधिभित्र अपनत्व कायम गराउनका लागि अपनाईने रचनात्मक उपाय हो । यो प्रकृयालाई नीति र व्यवहारमा अपनाउन सक्ने अवस्था निर्माण गर्न सक्नुले नै सही चिन्तनको रचना र त्यसको उचित कार्यान्वयनको मानक स्थापित हुन्छ । यसका लागि समुदायमा शान्तिको सञ्चार गराउन, विधिमा मानिसहरु बाँधिन र अनुशासन कायम गराउन अत्यन्त आवश्यक छ । फलस्वरुप मानवले थप उपलब्धीका लागि सोंच्न र कृयाशिल हुन मार्ग प्रशस्त समेत हुंदछ । यहाँनिर मानिसका (खास गरी नेतृत्वकर्ताका) धैर्यता, दूर दृष्टि साथै नीतिमा अनुबन्ध कृयाशिलता जरुरी पक्ष हो । अर्कोतर्फ, परिस्थिति त नयाँ हो तर तत् परिस्थितिमा पनि कुण्ठायुक्त विविध बाधा अड्चन कायम गर्ने, घुमाईफिराई यथास्थिति कायम गर्न गरिने कुनै पनि एकाधिकारवादी र परम्परावादी गतिविधिहरु विनिर्माण पक्षधर हुन् । विनिर्माणका प्रकृयाहरु कर्ताका लागि पनि र निर्माण पक्षधरका लागि समेत स्वतः सकसपूर्ण छन् । यो किन पनि हो भने निहित स्वार्थ केन्द्रित विनिर्माणवादले समाजलाई केवल पुनरुत्थानमा लगेर टेकाउँदछ । हो यसले केही समय राज गर्न सक्दछ किनभने विनिर्माणका क्रुर अडानले मानिसहरु आजित हुने परिस्थिति खडा हुन्छ र अन्ततः खराब नै भए पनि त्यस्ता विनिर्माण पक्षलाई मौन समर्थन गरेको अवस्था केही समयका लागि कायम हुन सक्दछ तर दीर्घकालिन भने अवश्य हुदैन । किनभने मानव समाज भनेको आफैमा यथास्थितिको विरोधी हो । तत्कालिन बाध्यात्मक अवस्थाको विकल्प खोज्नु मानव चेतनाको स्वभाविकपना पनि हो । यद्यपि मानव समाजमा यिनै दुई चिन्तन र प्रवृत्ति (निर्माणवाद र विनिर्माणवाद) बीचमा सदा लडाई र संघर्ष भईरहनेछ । यो सन्दर्भ साना साना इकाईहरुसम्म प्रतिविम्बित हुन सक्दछ ।
एउटा संकीर्णताको प्रतिस्थापन्न अर्को संकीर्णता निर्माणवाद हुन सक्दैन । अर्थात एउटा एकाधिकारलाई निषेध गरेर स्थापित गरिने अर्को एकाधिकार निर्माण हुन सक्दैन । त्यो भनेको केवल विनिर्माणकै नयाँ निरन्तरता मात्र हो । यसरी स्थापित गरिने कथित निर्माण न त लोकतान्त्रिक हुन सम्भव छ न त आर्थिक सामाजिक पक्षबाट प्रगतिशिल नै । यसकारण निर्माण भन्ने वित्तिकै सबैको समान अपनत्व, राज्यमा स्वामित्व, समग्र विकास र सम्वृद्धिको मर्मलाई समेट्ने र स्थापित गर्दै अगाडि बढ्ने एकीकृत सोंच र सामूहिक प्रकृया हो ।
५. यद्यपि विनिर्माणवादलाई शक्तिशाली र शक्तिविहिन दुवै पक्षले अपनाउन सक्दछन् । शक्तिशालीहरुले आफ्नो विद्यमान शक्ति र छत्रछाँया समाजमा कायम राखीराख्न यस्तो विधि अपनाईरहन्छन् भने शक्तिविहिन न्यायका पक्षधरहरुले सामाजिक न्यायका लागि । त्यसैले विनिर्माणको सन्दर्भलाई केलाउँदा त्यसको उद्देश्य कहाँनिर गएर ठोक्किन्छ वा थिग्रिन्छ भन्ने सवाल महत्वपूर्ण हुन्छ । यसकारण संसारमा कुनै पनि कुरा निर्माण हो या विनिर्माण हो भन्ने बारेमा ठम्याउने र पछ्याउने सन्दर्भ मानिसको चेतनामा भर पर्ने कुरा हो । किनभने चेतनाले नै आवश्यक्ताको परिपूर्तिका लागि दिशानिर्देश गर्दै जाने हो । समग्रतामा बहुजनलाई राम्रो गर्ने पक्ष नै निर्माण मानिन सम्भव छ भने बहुजनको कमजोरीमाथि राज गर्ने सन्दर्भ विनिर्माण नै हो ।
६. विनिर्माणमा विश्वास गर्ने वा अडिन चाहनेहरु वा केवल एकाधिकार कायम गर्न चाहनेहरुले निर्माण रुपी चेतना र कृयाकलापका विपक्षमा हुनु अवश्यम्भावी छ । यस्ता कदम खासगरी सत्ताधारीहरुले सामाजिक न्ययायका पक्षधरहरुका विरोधमा चालेका हुन्छन् । अर्थात एकाधिकारका पक्षधरहरुले यो विधि अवलम्बन गर्न मनासिव छ । यस कदमलाई सार्थक तुल्याउन पुरातनवादीहरुबाट सत्ता, शक्ति, प्रलोभन, धम्की, वेवास्ता, गुटगत अफवाह जस्ता सबै खाले दमनकारी नीतिहरु अवलम्बन गरिएका हुन्छन् । सत्ताधारीहरुका यस्ता दमन तबसम्म कायम रहन सम्भव छ जबसम्म विभाजित मानसिकता, सीमित प्रलोभन, वेतुकको दम्भ, निर्वाहमुखी चिन्तन, अफवाहलाई पत्याई हाल्ने जस्ता कमजोरीबाट न्यायका पक्षधरहरु ग्रसित भईरहन्छन् । यहाँनिर सत्ताधारीहरुको आत्मकेन्द्रित सोंच र व्यवहारले पनि उत्तिकै काम गरीरहेको हुन्छ । फलतः विनिर्माणको पक्ष स्वतः बलियो वा दमनकारी भईरहन्छ ।
७. नेपालको राजनीतिक चिन्तन विनिर्माणवादी भयो भनेर प्रष्टै भन्न सकिन्छ । किनभने निर्माणका युगान्तकारी पक्षहरु जो सजिलै समेट्न सकिन्थ्यो त्यो असम्भव जस्तो तुल्याईएको छ । मूलुकमा समयसापेक्ष सृजनात्मकताहरु थपिदै जानु त कता हो कता परम्परावाद समेतलाई कुरुप बनाउने धारबाट हाम्रा राजनीति लरखरिदै छ । यो दुःख र असह्य विडम्बनाको पक्ष हो । नेपाली राजनीतिको यो पक्ष नेपाली जनताकै कारणबाट पनि सम्भव भईरहेको हो । यहाँनिर यथास्थितिवादीहरुबाट जनतामा भ्रम फैलाईरहन सफल भएको प्रति ध्यान केन्द्रित गर्नु जरुरी छ । आमूल परिवर्तनका पक्षधरहरुले जनतामा आम विश्वास दिलाउन नसक्नु पनि यसको कारक तत्वको रुपमा लिईनु पर्छ । यो पक्षलाई आमूल परिवर्तनकारीहरुको महाकमजोरीको रुपमा सम्बन्धित पक्षले आत्मसाथ गरिनु देश र जनताका पक्षमा छ । नेपालमा भौतिक पक्षबाट मात्र होईन मानसिक पक्षबाट हेर्दा पनि राज्य जनउत्तरदायी भएको समग्र उदाहरण पाउन हामीलाई हम्मे हम्मे पर्दछ । यदि राजनीति निर्माणवादी भईदिएर अगाडि बढेको छ भन्ने दावी गरिन्छ भने सबै जसो नेपालीहरुले अपनत्व र स्वामित्व महशुस गर्ने राज्य व्यवस्था किन बन्न सकेन त ? त्यस्तो राज्य संरचना बारे किन आम रुपमा ठोस चिन्तन बन्न सक्दैन त ? अर्थात नेपालको सन्दर्भमा त्यस्तो परिस्थिति निर्माण भएको दावी गरिन्छ भने पनि किन त्यो कायम भईरहन सकेन त ? नेपाली समाजको विकास, समानता, सम्बृद्धि र उन्नतिको मानकबाट हेर्ने हो भने यो सवाल अत्यन्तै भयानक र दर्दनाक पनि छ । किनभने देशको राजनीतिले राम्रो गर्छ है भन्नेमा अधिकाँश जनता विश्वस्त छैनन् । यदि यसो नहुँदो हो त आधा पेट खाएरै भए पनि स्वदेशमै अडिन सक्ने जनशक्तिहरु किन निर्माण भईरहेका छैनन ? जबर्जस्त कुनै एउटा व्यवस्था ल्याईएछ भने पनि त्यो व्यवस्थित किन हुन सक्दैन ? यस्तो अवस्थामा हामीले बुझ्नै पर्ने हुन्छ कि राजनीतिका नाममा विनिर्माण (फगत परिवर्तन) केवल ढोङ्ग हो । यसले विथोल्ने सिवाय केही नगर्दो रहेछ । अर्थात नेपालमा जतिपनि राजनीतिक परिवर्तन भए ती अपरिपक्व र अर्ध सावित गरियो । यसमा पविर्तनका पक्षधरहरुको महाभूल कायम छ भन्न हिच्किचाउनु हुँदैन साथै दूरदृष्टि र आमूल परिवर्तनको मानकबाट परिवर्तनकारीहरुले अथक प्रयास गर्न लागी हाल्नु पर्ने देखिन्छ । यहाँनिर पहिलेकै राजनीतिलाई फर्काउनु नै श्रेयष्कर छ भन्न खोजिएको अवश्य होईन ।
८. यदि नेपालको राजनीतिमा विनिर्माण हदै सम्म हावी नभएको भए यहाँका नयाँ पुस्तामा मूलुक निर्माणका अतृप्त भावना र पक्षहरु किन व्यवहारिक, उत्साहित र निरन्तर बन्न सकीरहेका छैनन् ? सक्नेले जे गरे पनि छुट हुदोरहेछ भन्ने यथार्थ त नयाँ पुस्ताले दिनको घाम जस्तै छर्लङ्ग देखी सकेका छन् । पुरानो व्यवस्था बारेमा सुनेका भरमा विश्वास गरेका नयाँ पुस्ताले नयाँ व्यवस्थामा त यथार्थ प्रष्ट भोग्न बाध्य छन् । यसले गर्दा भावनात्मक र काल्पनिक कुराका पक्षमा लागी धैर्यता कायम गर्न भन्दा अमूल्य जीवनको सार्थकताका लागि नयाँ पुस्ता अवसरको खोजीमा तितरवितर भईरहने प्रकृया रोकिदो छैन । विनिर्माणले हद नाघेको अवस्था हो यो भनेको । यसका सौन्दर्यका अलीकति पनि भाग बाँकी छैनन् भन्ने नै हो यो अवस्था देखिनु भनेको ।
९. प्रकृतिमा रहने, यहाँका चेतनशिल प्राणीबाट सोचिने, गरिने सबै खालका विषयवस्तुहरुमा सौन्दर्य कायम हुन्छ । त्यसरी नै निर्माण र विनिर्माण दुवैमा एक खालको सौन्दर्य त अवश्य हुन्छ नै । निर्माणवादी सोंच र त्यसबाट निसृत कृयाकलापहरुमा खोट भएको अनुभूति मानिसहरुलाई भईदियो र त्यो नै सत्य हो भन्ने लाग्यो भने मानिसहरु विनिर्माण (निष्कृयता) को बाटोमा पनि अवश्य लाग्दछन् । यो अवस्था चरम निराशा र पलायनको अवस्था हुन सक्दछ । यो सन्दर्भ दीगो भईरहने भन्दा पनि निर्माण पक्षका कमजोरीको विरुद्धमा प्रहार गर्न गतिशिल र कायम भएमा त्यस्तो कदम निर्माणवादी मान्नु राम्रो हुन्छ । तर मानव समाज विनिर्माणको सौन्दर्य÷आकर्षणमा तत्कालै गले जस्तो र अली बढी अल्झिएको पाईएको छ । खासगरी अली कमसल खालको विनिर्माणवादी सोंचबाट अभिप्रेरित भई ल्याईने अफवाहहरुबाट मानिसहरु बढी रोमान्चित भएको पाईन्छ । तर जब त्यही विनिर्माणका परिणाम स्वरुप अफवाहरुपी रोमाञ्चकताबाट जब मानिसहरु गल्दछन् तब बल्ल निर्माणका पक्षमा वकालत गर्न वा एकीकृत हुन थाल्दछन् । अर्थात तत्कालिन विनिर्माणवादी प्रवृत्तिलाई परास्त गर्न झन कडा विनिर्माणमा पनि मानिसहरु लालायित हुन सक्दछन् । तथापि त्यस खालको कडा विनिर्माणवादी सोंचको थिग्रिने धरातल भनेकै अन्ततः सम्झौता हुन पुग्दछ जो निर्माणवादी हो । नेपालको सन्दर्भमा प्रजातान्त्रिक आन्दोलनको परिप्रेक्ष्यलाई मात्र आकलन गर्ने हो भने नेपाली काँग्रेस नेतृत्वको २००७ सालको परिवर्तन, २०४६ सालको परिवर्तन यसका केही उदाहरण हुन् । पछिल्लो चरणमा तत्कालिन नेकपा माओवादी आन्दोलनलाई यसरी लिन सकिन्छ । तराई केन्द्रित राजनीतिक दलका मधेशी आन्दोलन, आदिवासी जनजाति लगायतका कतिपय सामाजिक आन्दोलन पछिका केही परिणामहरु पनि यसका ज्वलन्त उदाहरण हुन सक्छन् । कतिपय राजनीतिक दलहरुका उतारचढावहरुलाई पनि हामीले गम्न सक्तछौं । आम मानिसको मानसपटलमा रहेको माओवादी आन्दोलन जो कडा विनिर्माणवादी र ध्वंशात्मक थियो, त्यसपछिको अवस्था अवश्य पनि निर्माणवादी हुन्छ भन्ने जनविश्वास पलाएको थियो । तर, फेरि पनि विनिर्माण (सत्ता केन्द्रित चिन्तनबाट ग्रसित र एकाङ्कीपन वा आडम्बर) र यथास्थितिवादले परिवर्तनका धारिलोपनामा खिया लाग्दै गएको देखिन्छ । हो, यो खालको विनिर्माण सुसुप्त देखिन्छ तर यससंगै परिवर्तनका पक्षधरहरुमा असन्तोष बाक्लिदो छ । यहाँ सम्म आईपुग्दा कतिपय यथार्थ भ्रमहरु बारे व्यवहारिक रुपमा जानकारी पाउने यथेष्ट अवसर नेपालीहरुका लागि प्रयाप्त बन्दै गएको त छ, तर परिवर्तनको आवरणमा अझै पश्चगामी र एकाधिकारवादी शासन सत्ता कायम हुने प्रवल सम्भावना पनि त्यत्तिकै बलियो बन्दै गएको छ । यस बीचमा पार्टीहरुको फुट, परिवर्तनकारीहरुको विभाजित एवं संकीर्ण मानसिकता, सकारात्मक शाहस नहुनु, तिनीहरुमा सुसुप्त रुपमा व्याप्त वेतुकका आडम्बर, निर्वाहमुखी लालच, क्षणिक वाहवाहीबाट भ्रममा पर्ने व्यक्तिवादी र दलाली चिन्तन र व्यवहार, कर्म भन्दा फलको आस गर्ने परजिवी मानसिकता, कथित खोक्रो आश्वासनमा रोमाञ्चित हुने मनोविज्ञान, परिस्थितिको सामूहिक विश्लेषण र आकलनको अभाव जस्ता पक्षहरु ज्यादै ज्वलन्त रुपमा आत्मसाथ गरिनु पर्ने यथार्थहरु हुन् |
९. प्रकृतिमा रहने, यहाँका चेतनशिल प्राणीबाट सोचिने, गरिने सबै खालका विषयवस्तुहरुमा सौन्दर्य कायम हुन्छ । त्यसरी नै निर्माण र विनिर्माण दुवैमा एक खालको सौन्दर्य त अवश्य हुन्छ नै । निर्माणवादी सोंच र त्यसबाट निसृत कृयाकलापहरुमा खोट भएको अनुभूति मानिसहरुलाई भईदियो र त्यो नै सत्य हो भन्ने लाग्यो भने मानिसहरु विनिर्माण (निष्कृयता) को बाटोमा पनि अवश्य लाग्दछन् । यो अवस्था चरम निराशा र पलायनको अवस्था हुन सक्दछ । यो सन्दर्भ दीगो भईरहने भन्दा पनि निर्माण पक्षका कमजोरीको विरुद्धमा प्रहार गर्न गतिशिल र कायम भएमा त्यस्तो कदम निर्माणवादी मान्नु राम्रो हुन्छ । तर मानव समाज विनिर्माणको सौन्दर्य÷आकर्षणमा तत्कालै गले जस्तो र अली बढी अल्झिएको पाईएको छ । खासगरी अली कमसल खालको विनिर्माणवादी सोंचबाट अभिप्रेरित भई ल्याईने अफवाहहरुबाट मानिसहरु बढी रोमान्चित भएको पाईन्छ । तर जब त्यही विनिर्माणका परिणाम स्वरुप अफवाहरुपी रोमाञ्चकताबाट जब मानिसहरु गल्दछन् तब बल्ल निर्माणका पक्षमा वकालत गर्न वा एकीकृत हुन थाल्दछन् । अर्थात तत्कालिन विनिर्माणवादी प्रवृत्तिलाई परास्त गर्न झन कडा विनिर्माणमा पनि मानिसहरु लालायित हुन सक्दछन् । तथापि त्यस खालको कडा विनिर्माणवादी सोंचको थिग्रिने धरातल भनेकै अन्ततः सम्झौता हुन पुग्दछ जो निर्माणवादी हो । नेपालको सन्दर्भमा प्रजातान्त्रिक आन्दोलनको परिप्रेक्ष्यलाई मात्र आकलन गर्ने हो भने नेपाली काँग्रेस नेतृत्वको २००७ सालको परिवर्तन, २०४६ सालको परिवर्तन यसका केही उदाहरण हुन् । पछिल्लो चरणमा तत्कालिन नेकपा माओवादी आन्दोलनलाई यसरी लिन सकिन्छ । तराई केन्द्रित राजनीतिक दलका मधेशी आन्दोलन, आदिवासी जनजाति लगायतका कतिपय सामाजिक आन्दोलन पछिका केही परिणामहरु पनि यसका ज्वलन्त उदाहरण हुन सक्छन् । कतिपय राजनीतिक दलहरुका उतारचढावहरुलाई पनि हामीले गम्न सक्तछौं । आम मानिसको मानसपटलमा रहेको माओवादी आन्दोलन जो कडा विनिर्माणवादी र ध्वंशात्मक थियो, त्यसपछिको अवस्था अवश्य पनि निर्माणवादी हुन्छ भन्ने जनविश्वास पलाएको थियो । तर, फेरि पनि विनिर्माण (सत्ता केन्द्रित चिन्तनबाट ग्रसित र एकाङ्कीपन वा आडम्बर) र यथास्थितिवादले परिवर्तनका धारिलोपनामा खिया लाग्दै गएको देखिन्छ । हो, यो खालको विनिर्माण सुसुप्त देखिन्छ तर यससंगै परिवर्तनका पक्षधरहरुमा असन्तोष बाक्लिदो छ । यहाँ सम्म आईपुग्दा कतिपय यथार्थ भ्रमहरु बारे व्यवहारिक रुपमा जानकारी पाउने यथेष्ट अवसर नेपालीहरुका लागि प्रयाप्त बन्दै गएको त छ, तर परिवर्तनको आवरणमा अझै पश्चगामी र एकाधिकारवादी शासन सत्ता कायम हुने प्रवल सम्भावना पनि त्यत्तिकै बलियो बन्दै गएको छ । यस बीचमा पार्टीहरुको फुट, परिवर्तनकारीहरुको विभाजित एवं संकीर्ण मानसिकता, सकारात्मक शाहस नहुनु, तिनीहरुमा सुसुप्त रुपमा व्याप्त वेतुकका आडम्बर, निर्वाहमुखी लालच, क्षणिक वाहवाहीबाट भ्रममा पर्ने व्यक्तिवादी र दलाली चिन्तन र व्यवहार, कर्म भन्दा फलको आस गर्ने परजिवी मानसिकता, कथित खोक्रो आश्वासनमा रोमाञ्चित हुने मनोविज्ञान, परिस्थितिको सामूहिक विश्लेषण र आकलनको अभाव जस्ता पक्षहरु ज्यादै ज्वलन्त रुपमा आत्मसाथ गरिनु पर्ने यथार्थहरु हुन् |
१०. वास्तवमा राजनीति भनेको रचनात्मक निर्माण नै हो । यतिबेला नेपाली समाजमा विनिर्माणका सौन्दर्यहरु लगभग समाप्त भईसकेका छन् । २०७२ बैशाख १२ को भुकम्पका कारण त्यस्ता कुरुप सौन्दर्यहरुका खिलाफमा जनता सोझै उत्रन सक्ने परिस्थिति नभए पनि निर्माणवादी चिन्तन कार्यान्वयन भए त हुन्थ्यो भन्ने शुभचिन्ताको आकुलव्याकुलता मानिसहरुका मनमा झाङ्गिदै गएको छ । यो पक्ष भनेको देशप्रति नयाँ पुस्ताका सकारात्मक सोंच हुन् । समग्रमा भन्दा समाजमा व्याप्त सकारात्मक सोंच हो यो । तर यसको नेतृत्व गर्ने कसले हो त ? देश र जनताका पक्षमा प्रताडित यी भावनाहरु कहाँनिरबाट सम्बोधन हुन सक्तछ त ? यो गम्भीर र यथार्थ अनि ज्वलन्त सवाल हो देश र जनताको कोेणबाट ।
११. यहाँनिर दुई ओटा उपायहरु छन् भन्ने लाग्दछ । पहिलो हो, निर्माणवादी पक्षधरहरुले सबै मानवीय कमजोरीहरु आत्मसाथ गरी राजनीतिक रुपमा साथै भावनात्मक रुपमा अविलम्ब एक ठाउँमा आईहाल्नु र समान रुपमा कृयाशिल हुनु । यसमा विरासत कायम गरेका राजनीतिक दलहरुले कमजोरी सच्याएरै भए पनि अगुवाई गर्दा ज्यादै राम्रो हुनेछ । परिवर्तन पक्षधरहरुको अघोषित नै सही छिटो भन्दा छिटो सके एउटै राजनीतिक दल बन्नु, नभए देश र जनता प्रति प्रतिबद्ध मोर्चा बन्नु (प्राविधिक कमजोरी सच्चिने स्थिति छैन भने अविलम्ब कार्यकगत एकता गरी इमान्दारिताका साथ कृयाशिल भईहाल्नु) जरुरी देखिन्छ अर्थात नयाँ नेपाल निर्माणका लागि यस्ता चिन्तन र चेतनाबाट दीक्षित भई आएकाहरुको सामूहिक प्रयास जरुरी छ जो दीगो हुन सम्भव छ । अर्थात निर्माणवादी चेतना र चिन्तनबाट दीक्षितहरुले भोलीको राष्ट्रिय सम्वृद्धिलाई ध्यानमा राखी जति सकिन्छ खुलेर एकीकृत योगदान गर्न पछि हट्नु हुँदैन । यसरी सामूहिकतामा आधारित भएर गरिने कार्यले उद्देश्यलाई केन्द्रमा राख्न भुल्नु हुँदैन । यस्ता अभियानलाई सार्थक बनाउन आत्मकेन्द्रित कुनै पनि पक्षलाई हावी हुन दिनु हुँदैन । मान्छे न हो भन्ने कोणबाट कमीकमजोरीलाई हावी हुन दिनु हुँदैन । यस्ता शक्तिहरुको एकात्मकता र निरन्तरको खटाईका कारण जुन विधि र थिती बस्नेछ त्यसले सबैमा आशाको सञ्चार गराउनेछ । यो अभियानले सके उही पुस्तालाई नसके अर्को पुस्तालाई विधिमाथि विश्वास जाग्न समय लाग्ने छैन । र, मूलुकले सही गति लिन सक्दछ ।
१२. दोश्रो हो, एकल शक्तिशाली नेतृत्व स्थापित गर्नु जो निर्माणवादी छ । निर्माणवादीहरुको सामूहिक प्रयास हुन नसक्ने अवस्थामा पनि कोही न कोही त अग्रसर हुनै पर्छ । त्यसका लागि निर्माणवादी (विचार, व्यवहार सही भएको÷राजनेतामा हुनु पर्ने गुण भएको चलायमान व्यक्तित्व) एकल व्यक्तित्व भए पनि यो वेथिति फ्याक्न कस्सिनै पर्ने हुन्छ र निःस्वार्थ भावनाबाट प्रेरित त्यस्तो व्यक्तित्व सम्बन्ध, नेतृत्वकारी गुण आदि सबै हिसावले ठीक र निर्माणवादी (तुलनात्मक रुपमा कम स्वार्थी) हुन जरुरी छ । यहाँनिर परिवर्तनकामीहरुले नै निःस्वार्थ नेतृत्व निर्माण गर्न योगदान गर्न पनि सक्नेछन् । यदि यसो पनि हुन सकेन भने समाजको यसै कमजोरीलाई आधार बनाई अशान्तिवादी धारले टाउको उठाउन सक्दछ जसले निर्माणवादको पगरी गुथ्दै विनिर्माणको अवस्था सृजना गर्नेछ । यसको नेतृत्व परम्परावादी वा कथित परिवर्तन पक्षधर जसले पनि लिन सक्नेछ । जो फेरि पनि समाजका लागि बाध्यात्मक हुनेछ र त्यसले समाजमा भ्रम र त्रास व्यापक कायम गराउनेछ । जसको यथार्थ हुनेछ, नेपाली जगतले कल्पना गरेको राज्यसत्ता कहिल्यै निर्माण नभई सधै निर्वाहमुखी अवस्थाबाट नेपाली समाज गुज्रनु पर्नेछ । र, नयाँ आवरणमा परम्परावाद र यथास्थितिवाद जहिले बलियो रुपमै रहनेछ । नेपालको वर्तमान अवस्था यही “पेरीफेरि” नजिक घुमीरहेको छ । जसको यथार्थ हुनेछ, नेपाली जगत (परिवर्तनकामीहरु) ले कल्पना गरेको राज्यसत्ता कहिल्यै निर्माण नभई सधैं निर्वाहमुखी अवस्थाबाट नेपाली समाज गुज्रनु पर्नेछ । वास्तवमा देश अविरल द्वन्दमा फस्ने यस्तो अवस्था सृजना भएमा को जिम्मेवार हुने हो ? अब सवाल राख्न चाहन्छु – न्यायका पक्षधरहरुले, परिवर्तनकामीहरुले कस्तो चिन्तन र व्यवहार अनि कृयाशिलता अवलम्बन गर्ने हो ? अली गम्भीरताका साथ सबैले सोचौं ।
मिति : २०७२ असार ५ गते सम्ममा काठमाडौंमा तयार गरिएको विचार |
( लेखक राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषद, केन्द्रीय समिति
, उपमहासचिव/केन्द्रीय प्रचार विभाग प्रमुख
हुनुहुन्छ | सम्पादक )

0 comments :
Post a Comment