काठमाडौं, २९ असार । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामति सेवा ऐन चौथो संशोधन विधेयक राष्ट्रपतिबाट आज प्रमाणीकरण भएकाले अब निजामती सेवालाई प्रभावकारी बनाउन सहज भएको बताएका छन् ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले डिभी र पिआर लिएका निजामति तथा सरकारी स्वामित्वका संस्थानका कर्मचारीले अबको ३० दिनभित्र स्वघोषणा गरी खारेज गर्नुपर्ने अन्यथा तीन महिनाभित्र कारबाही गरिने चेतावनी दिए ।
उनले नयाँ संविधान जारी भएपछि राजनीतिक दलसम्बन्धी ऐनमा समेत संशोधन गरिने र डिभी तथा पिआर लिएका राजनीतिकर्मीलाई समेत कारबाही गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । मन्त्री पण्डितले भने, “नेपाल सरकारको लगानी भएका जुनसुकै संस्थामा काम गर्नेलाई पनि अब डिभी र पिआर लिने मात्रै होइन त्यसका लागि आवेदन दिनेलाई पनि कारबाहीको दायरामा ल्याउँछौं ।”
उनले ऐनअनुसार विदेश भ्रमणमा जाने कर्मचारी ३० दिनभित्र स्वदेश नफर्किए उनीहरू स्वतः निलम्बनमा पर्ने र उनीहरूले सरकारी सेवासहित निजी क्षेत्रमा पनि काम गर्न पाउने छैनन् भने ।
अहिलेसम्म आफूसँग झन्डै ६०० कर्मचारीको विषयमा उजुरी आएको बताउँदै उनले डिभी र पिआरबाहक कर्मचारीको सूचना दिन सार्वजनिक आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार सबै सेवामा गरेर १० हजारभन्दा बढी डिभी र पिआर लिएका कर्मचारी छन् । रासस

0 comments :
Post a Comment