इश्वर सापकोटा क्यालिफोर्नियाका सक्रिय सामाजिक कार्यकर्ता हुनुहुन्छ | जन सम्पर्क समिति अमेरिकाका सचिव समेत रहेका सापकोटा क्यालिफोर्निया क्षेत्रका अन्य सामाजिक संघ संस्थामा लामो समयदेखि क्रियाशील हुनुहुन्छ | हालै नेपालमा गएको विनाशकारी महा भुकम्पपछी नेपालमा गएर उद्धार र राहत कार्यमा संलग्न हुनुभयो | अहिले अमेरिका आइसक्नु भएका सापकोटा संग द नेपाल टुडेका लागि पत्रकार सर्वज्ञ वाग्ले वाग्लेले गर्नु भएको कुराकानी प्रस्तुत छ:
तपाई राहत लिएर पुग्दाको कस्तो थियो नेपालको स्थिती ?
प्रश्नको लागी धन्यबाद, समग्रमा भन्नु पर्दा म नेपाल पुग्दा सबको मनमा त्राश र पीडा देखिन्थ्यो। अझै यसलाई बिस्तृत रुपमा भन्नु पर्दा जब हाम्रो जहाज त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण भयो। जहाजको झ्यालबाट देखीने ग्राउण्डमा रहेका राहतका सामाग्रीहरु असरल्ल अवस्थामा देखिए | मैले सहजै अनुमान लगाए। सरकारले बाहिरबाट आएको राहतका सामाग्रीलाई पुर्ण रुपमा ब्यबस्थापन र कार्यान्वयन गर्न नसकेको र क्षतीग्रस्त ठांउहरुमा पुग्दा पिडीत जनताहरुले राहत नपाई रहेको अवस्था
थियो । संभवत अहिलेको अवस्था फरक हुनुपर्छ। सरकार पक्षबाट पनी धेरै कुराहरुको ब्यवस्थापन गर्ने प्रयास र बिदेशी दातृ संस्था या राष्ट्रबाट भइरहेका पहलले म त्यहा पुग्दा र अहिलेको अवस्था केही भिन्न भइसकेको हुनु पर्दछ।
तपाईसँगै नेपालमा को-को जानु भएको थियो र कसरी काम शुरु गर्नु भयो ?
सन्नि सगरमाथा समाजको तर्फबाट म लगाएत हाम्रा समाजका बोर्ड सदस्य भाई नारायण खनाल, संस्थाका सकृय सदस्य तथा सहयोगी द्वय नीम गुरुङ र दिपेन्द्र तिमल्सिना गएका थियौ | नेपाली एसोशिएसन अफ नर्दन क्यालीफोर्नीयाको तर्फबाट तत्कालीन अध्यक्ष (हाल निबर्तमान) उत्तम कार्की , सचिब सुजित सिंह तथा कार्य न्यान्स समिती सदस्य तथा नेपाल आदिबासी जनजाती महा संघ,क्यालीफोर्नीयाको तर्फबाट देव राईजी यस अभियानलाई सफल बनाउनका लागी जानु भएको थियो।
काम कसरी शुरु गर्नु भएको थियो ?
सर्बप्रथम त शुरुमा हामी एक दम अलमलमा पर्यौ। किन भन्दा हामी पुगेको भोली पल्ट अर्थात बैशाख २९ गते हामीले योजना तर्जुमा गर्दै गर्दा दोश्रो ठुलो भुकम्प गयो। त्यस पश्चात आम जनमानसमा गएको १२ गते पछिका कम्पनलाई परा-कम्पन हुन भनी सामान्य लिन थाली सकेको अबस्थामा २९ गतेको भुकम्पले पुन: अर्को त्राशको सिर्जना गर्यो। त्यसले हामी जस्तो बिदेशबाट जाने साथीहरुलाई योजना कार्यान्वयनका लागी ठुलो द्विबिधा तथा कठिनाई उत्पन्न गराई दियो। साथै हामीले लगेको डलर सटहीमा समेत कठिनाई पर्यो। किनकी बैंकहरु र पर्यटकिय क्षेत्र ठमेलमा रहेका अधिकांश डलर सटही काउण्टरहरु अर्को कम्पन तथा बिनाशको संन्त्राशले बन्द थिए। यध्यपी हामीसंग स्थानीय स्तरमा पनी सहयोगी हात र थुप्रै स्वयंसेवक साथीहरु भएको हुंदा वहाहरुको साथले ती आर्थीक तथा ब्यबस्थापनका अड्चनहरुलाई पार गर्दै साच्चिकै पिडीत र स्थानीय स्तरसम्म पुग्न सफल भयौं | त्यती धेरै केही गर्न नसके तापनी तत्काल भएको आलो घाउमा केही हदसम्म भएपनी मल्हमपट्टी लगाउने प्रयास भने गर्यौ।
खास गरि कुन संस्था अन्तर्गत जानु भयो ?
हाम्रो टिम ३ वटा संस्थाको प्रतिनिधित्व गरेर गएको थियो। सन्नि सगरमाथा समाज, नेपाली एशोसियसन अफ नर्दन क्यालीफोर्नीया तथा नेपाल आदिबासी जनजाती महासंघ, क्यालीफोर्नीया।
मानिसहरुले तपाईंलाई के के भने ?
हामी ३ हप्ताको अन्तरालमा करीब ९/१० वटा जिल्लाका १२ वटा गाँउहरुमा पुग्यौ। त्यहांका पिडीत समुदायका बेदना, पिडाहरु असह्य थिए। हामी अमेरीका जस्तो सन्सारको अधिकतम बिकास र बिलाशिताको चरम उत्सर्गमा रहेको मुलुकमा छौं । हाल हामी यहा रहदै गर्दा, त्यहांको कल्पना समेत पनी गर्न गार्हो छ | हामी पनी त्यही धुलो माटोमा हुर्की बढी आएको हुँदा सबैले सहजै अनुमान लगाउन सकिन्छ | त्यस बिषम परीस्थितीमा त्यहां के भैरहेकोथ्यो होला र त्यहां हुनु भएका हाम्रा परीवार, आफन्ती र सन्ततीले यस्तो पिडामा के महशुस गर्छन र के भन्छन भन्ने कुराको पनि सहजै अनुमान लगाउन सकिन्छ । यध्यपी स्थानीय स्तरमा केही बृद्ध आमाहरुले भनेका केही कुराहरु म यहा उल्लेख गर्न चाहन्छु।
-बाबु, हामीलाई अन्न मात्रै पेटमा पार्न पाए हुन्छ, चामलको भात नै खानु परेको त थिएन। सधैं दशैंमा चामलको भात खाने गरेका थियौ। अरु बेलामा पिठो मात्रै हो। त्यही भएको पिठो, मकै जम्मै पुरीयो। अन्न पेटमा नपरेको ३ दिन भएथ्यो आज त चामलकै भात खान पाईने भयो।
-बाबु ,सुत्केरी बुहारी र भर्खर जन्मेको नाती चिसो भुंईमा सुतेर सुन्नीएर (हातले देखाउंदै) एत्रो भएका थिए । बाबुहरुले ल्याउनु भएको यो ओछ्याउनेले अब नाती बाच्ने भो ।
- बावु , हामी खानै नपाउने त कहा हौँ र ? यो भुंइचालोले गांउका अधिकांश घरहरु ढले, कत्तिका बस्तुभाउ पुरीए, केटा-केटी र बुढा-बुढी पुरीए। बांचेकाहरु सबै उद्वार गर्न तर्फ लागे। पुरीएका अन्नपात निकालौंला भन्दा भन्दै रात पर्यो। भोली निकाल्ने योजना थियो। रातीको मुशलधारे पानीले सर्वस्व भयो बाबु। त्यसैले हामी अहिले कस्ले राहत ल्याउला र खान पाइएला भनेर बस्नु परेको छ।
यति भन्दै गर्दा ती बृद्ध आमाका आखाहरु रसाई रहेका हुन्थे र हामीलाई सहर्ष धन्यबाद दिई रहेका हुन्थे तर म भने त्यो धन्यबाद मलाई होईन संपुर्ण चन्दा दाता तथा सहयोगी हातहरुलाई डेलीभर गरिरहेको हुन्थे।
तपाईहरु थप कुन कुन ठाँउमा जानु भयो ?
हामी काठ्माण्डौको बेबी लाईफ होम किर्तिपुर र जोरपाटी स्थित अर्थोपेटिक हस्पिटल, काभ्रेको नयाँ गाँउ देउपुर, काशी खण्ड न.पा.-७ को खाक्सी र पनौतीको रातमाटे, सिन्धुपाल्चोकको फुलपिङ डांडा गा.बि.स. वार्ड नं. ४ र ५ , नुवाकोटको पुमरी गा.बि.स. मुडवरी टोल र लिखु गा.बि.स.-८ गुरुङ टोल, ललितपुरको सिद्धिपुर, धादिङको त्रिपुरेश्वर गा.बि.स.-१ सुकौरा , गोर्खाको छेपेटार, तनहुंको किँहु र अरुणोदय गा.बि.स., भोजपुरको देभाने, नेपाले डांडा, खातम्मा र चौकी डाँडा गा.बि.स.,रामोछापको भिरपानी गा.बि.स.,सोलुखुम्बुको तिङ्ला र सल्यान गा.बि.स. पुग्यौं।
नेपाली जन सम्पर्कका अध्यक्ष आनन्द विष्ट जी पनि जानु भएको थियो नि ? के सँगै जानु भएको हो ?
सभापती आनन्द बिष्टजी लगाएतका साथीहरु पनी जनसंपर्क समिती अमेरीकाको प्रतिनिधित्व गर्दै राहत बितरणका लागी जानु भएको थियो र एक दुई दिनको अन्तरालमा म लगाएत हाम्रो टोली पनी पुग्यौ। म जन संपर्क समिती अमेरीकाको सचिवको हैसीयतले भन्नु पर्दा, संभव भएसम्म केही ठांउमा सभापती बिष्टजी लगाएतका साथीहरुसंग राहत बितरणका लागी सहयोगी बनेर गएं। तर म जुन संस्थाको प्रतिनिधित्व गरेर गएको थिंए। उक्त संस्थाले गरेको बिस्वास र दिएको कार्यभार पनि यथासक्य चांडो कार्यान्वयन गरी पिडित समक्ष राहत सामाग्री पुर्याउनु पर्ने तत्कालीन अवस्थालाई मध्य नजर गरी जन सम्पर्क समितीको टोलीमा समय दिन सकिन | तथापी सभापती जी लगाएतका साथीहरुसंग म निरन्तर संपर्कमा रही बास्तबिक भुकम्प पिडीत र स्थान पहिचानका लागी हामीले निरन्तर संपर्कमा रही संग-संगै सहकार्य गर्यौ।यसमा मलाई हाम्रा केन्द्रिय सदस्य हरिबोल भण्डारीजीले पनी निक्कै सहयोग गर्नु भयो।
के छ पुनर्निमाणका बारेमा तपाईंका योजनाहरु ?
केही दिन अघी मात्रै सन्नि सगरमाथा समाजको कार्य समिती तथा राहत संकलन/ बितरण समितिको बैठक बस्यो र त्यहां हिसाव/किताव बुझ-बुझारथ भयो। म पनि संस्थाको संस्थापक अध्यक्ष तथा बर्तमान सल्लाहकार तथा राहत बितरण प्रतिनिधिको हैसीयतले उक्त बैठकमा पुगेको थिंए र उक्त बैठकले यस कुराको संपुर्ण जिम्मा अध्यक्ष बलराम पाण्डेको संयोजकत्वमा रहेको राहत संकलन/बितरण समितीलाई लगाएको छ। तसर्थ उक्त समितीले चांडै नै योजना बाहिर ल्याउला। संभवत बैठकमा भएको छलफल अनुरुप अब बांकी रकम त्यति धेरै नभएको हुंदा, केही रकम अमेरीका स्थित नेपाली राजदुत मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने र केही रकम पुन: निर्माणमा खर्चिने की भन्ने योजनामा रहेको छ | नेपालको परिस्थितीलाई मध्यनजर गरी निकट भविष्यमा नै उक्त समितीले निर्णय गरी कार्यान्वयन गरीने बिषयमा छलफल भएको छ।
जन सम्पर्क समिती त भनिन्छ दुई धारमा छ तपाईं के भन्नु हुन्छ यसमा ?
भुकम्पको पिडा र राहतको बिषयमा छलफल गरीरहदा यस बिषयमा प्रवेश गर्नु मन त थिएन तर म पनि जन संपर्क समितीको आधिकारीक ब्यक्ति भएको हुंदा, केही बोल्नु पर्ने हुन्छ।
थियो होला कुनै बेला दुई धार तर टेक्सास अधिबेशन पश्चात: जन सम्पर्क समिती एक भएको छ। यदाकदा एक दुई जनामा केही ब्यक्तिगत बिषयमा मत मतान्तर हुन सक्छन तर त्यसलाई धार भनी ब्याख्या र बिष्लेषण गर्नु उचित नहोला भन्छु म। निश्चित रुपमा अघिल्ला बर्षहरुमा धारको राजनितीले अमेरीकामा रहेको नेपाली समाजमा पारेको असर, नेपाली कांग्रेस पार्टी र आफ्नो ब्यक्तित्व माथि परेको आघातका बारेमा संबन्धित सबैले आत्मसात् गर्नु भएको होला भन्ने ठानेको छु। त्यसैले संबन्धित सबैमा धारको सकिर्णता हराईसकेको हुनु पर्दछ। यदी कहि-कतै छ भने पनी त्यसलाई आजैका मिती र अहिल्यैबाट द्वेष अन्त गरी अघि बढ्न आग्रह गर्दछु।
अन्त्यमा केही?
तपाईं लगायत तपाईको मिडिया द नेपाल टुडेलाई धेरै-धेरै धन्यबाद | साथै मैले छुटाउनु नै नहुने कुरा, संपुर्ण सहयोगी हातहरु र चन्दादाताहरुलाई मुरी-मुरी धन्यबाद। यांहाहरुको पेनी पेनीलाई हामीले बास्तविक पिडीतहरु समक्ष पुर्याउन पाउँदा संतोषको आभाष भएको छ।
नेपालमा रहदा हामीलाई राहत बितरणका क्रममा सहयोग गर्नु हुने परिवार, आफन्तजन तथा संपुर्ण साथी-भाईहरु प्रति बिशेष आभार पर्कट गर्दछु। यहाँहरुको सहयोग बिना हाम्रो अभियान संभव थिएन।
0 comments :
Post a Comment