English Edition

ओलीलाई प्रधानमन्त्री बन्नै चुनौति, बनेपछि झन् चुनौति


काठमाडौं । राष्ट्रिय राजनीतिमा कुनै उथलपुथलकारी राजनीतिक घटना नभए संसद अधिवेशन आह्वान भएको दुई साताभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउँछ । नयाँ संविधानमा भएको व्यवस्था अनुरुप संसद आह्वान भएको एकसातामा सहमतीय आधारमा प्रधानमन्त्रीको प्रधानमन्त्री चयन हुने संवैधाननिक व्यवस्था छ ।

तर, असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएपनि मुलुकको राजनीतिमा नाटकीयरुपले ग्रहण लागेको छ । संविधानसभाबाट दुई तिहाईभन्दा बढी सदस्यले संविधान पारित गरेपनि खासगरी दक्षिण छिमेकी देश भारतले तराई–मेधेशको समस्या देखाउँदै नयाँ संविधानलाई नस्विकारेको अवस्था छ । नेपालमा संविधान जारी भएलगत्तै भारतले अघोषितरुपमा नेपालमाथि नाकाबन्दी गरेर विरोध जनाइरहेको अवस्था छ । भलै भारतको यस कदमप्रति सर्वत्र विरोध भएको छ ।

नेपालको हरेक महत्वपुर्ण राजनीतिक परिवर्तनमा आफ्नो ‘स्पेस’ खोज्दै आएको भारतले नयाँ संविधान जारी पछि यो वा त्यो बहानामा नेपाललाई दुःख दिइरहेको छ । यसले नेपाल जस्तो सानो भुपरिवेष्ठित मुलुकमा थप संकटको संकेत देखा परेको छ ।

नेपालको राजनीतिमा दिनहुँजस्तो राजनीतिक घटनाक्रम बदलिएको अवस्था छ । संविधानसभाबाट पहिलो पटक जनताका प्रतिनिधिले बनाएको संविधानमाथि जारी भएकै भोलिपल्टदेखि दक्षिणी शक्तिशाली राष्ट्र भारतले विरोधमा अघोषित नाकाबन्दी गरिसकेको छ । उसले निहित स्वार्थमा छिमेकी साना राष्ट्रलाई घुँडा टेकाउन खोज्नु अहिलेको जस्तो विश्वव्यापीकरणको युगमा पक्कै पनि शोभनीय कुरा होइन ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्नु दीर्घकालमा भारतकै लागि प्रतिउत्पादक बन्नसक्छ । कुनै पनि सार्वभौम देशले आन्तरिक विषयमा निर्णय लिन पाउनु उसको नैसर्गिक अधिकार हो । नेपालको सार्वभौमसम्पन्न संविधानसभाले जे निर्णय गर्यो, त्यो नेपालको आन्तरिक मामिला हो । लोकतान्त्रिक प्रणाली भएका विश्वका अन्य मुलुकमा राजनीतिक निकासको लागि जुन किसिमको विधि प्रकृया प्रयोग गर्दै आएको छ, नेपालले पनि त्यही अभ्यास गर्दै आएको हो । यसमा टाउको दुःखाउनु पर्ने कुनै कारण छैन ।

तर, नेपालको मामिलामा निहित स्वार्थको लागि विभिन्न तप्का र तहबाट विभिन्न समूहहरु नयाँ संविधानलाई असफल बनाउन सक्रिय छन् । यसले कसैलाई पनि फाइदा पुग्दैन । नेपाल जस्तो जटिल भू–राजनीतिक भएको देशमा अस्थिरता निम्त्याउनु, भारत र चीन जस्ता विशाल उदयमान शक्तिशाली देशलाई नै घातक हुनसक्छ ।
महिनौ दिनदेखि तराई जलिरहेको छ । नयाँ संविधानले आफ्नो हक अधिकार खोजिएको भन्दै कुण्ठा बोकेर बसिरहेका जनजाति तथा मधेशी लगायतका समुदायहरुले राजमार्ग केन्द्रित तथा भारतसँग जोडिएका नाका भन्सार अवरोध जारी राखेका छन् । देशमा आवश्यक पर्ने दैनिक उपभोग्य बस्तुहरुको आपुर्ति कम हुँदा जनतामा त्रास पैदा भएको छ । संविधान जारी भएपनि देश आध भूभागमा अझै खुशीयाली छाउन सकेको छैन ।

देशका विभिन्न ठाउँमा सल्किएको आगो देशैभरी फैलिने हो कि भन्ने चिन्ता थपिएको छ । नयाँ संविधान जारी भएपछि देश शान्ति, स्थिरता तथा विकासको बाटोमा अग्रसर होला भन्ने आशामा बसेका जनतामा बिस्तारै निराशा थपिएको छ ।

इतिहासमै गम्भीर मोडमा उभिएको मुलुकको राजनीतिले कस्तो रुप लेला भन्ने जिज्ञासा बढ्दै गएको छ । अहिलेको तरल राजनीतिक अवस्थामा सरकार तथा राजनीतिक दलहरुको बुद्धिमत्तापूर्ण निर्णयको खाँचो छ । यस कठिन अवस्थामा राजनीतिक दल र नेताहरुको, नागरिक समाज तथा जनस्तरमा बिग्रिएको वातावराणलाई उत्तेजित नबनाउन धैर्यता र इमान्दारिताको पनि उत्तिकै खाँचो छ । अनिश्चय र अन्योलपूर्ण अवस्थामा रहेको मुलुकको राजनीतिले कुनै दीघृकालिन विग्रह नल्याओस भन्नेमा सबै सचेत रहन आवश्यक छ ।

बिदाइको अन्तिम अवसर कुरिहेका वर्तमान राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदाधिकारीहरुको जिम्मेवारी बर्हिगमनपछि पनि उत्तिकै सहयोगको खाँचो छ । र, पर्खाइमा बसिरहेका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले नेपाली राजनीतिक आकासमा अस्वभाविकरुपले मडारिरहेको बादललाई व्यवास्थापन गर्ने गहन जिम्मेवारी काँधमा आएको छ ।

यस कठिन घडीमा जिम्मेवारी लिएर आउने व्यक्तित्वहरुले राजनीतिक तरलतालाई तत्काल अन्त्य गरी मुलुकलाई दीर्घकालीन अवस्थामा लैजान सक्नुनै मुख्य चुनौति रहेको छ । वर्तमान प्रधानमन्त्री सुशील कोइरालाको उत्तराधिकारी बन्न तम्सिएर बसेका एमाले अध्यक्ष तथा देशकै शक्तिशाली वामपन्थी नेता केपी शर्मा ओलीको आगमन त्यति सजिलो छैन । पछिल्लो समय मधेशप्रति निकै कडारुपमा प्रस्तुत भएका अध्यक्ष ओलीलाई सिंहदरबारमा प्रवेश अघि वा प्रवेशपछि पनि उत्तिकै चुनौतिहरु रहेका छन् ।

ओलीका लागि अबका चुनौति यस्ता छन् :
१. भारतसँग सम्बन्ध सुधार
वर्तमान प्रधानमन्त्री सुशील कोइरालापछिको वेटिङ प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीलाई सिंहदरबार प्रवेशमै कडा चुनौति रहेको छ । पहिले देखिनै भारतसंग राम्रो सम्बन्ध नभएका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा भारतले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने पक्षमा छैन । पछिल्लो संमय भारतप्रति कडारुपमा प्रस्तुत भएका ओली नयाँ संविधान जारी भएपछि झनै सम्बन्ध बिग्रिएको छ । संविधान घोषणा अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विषेश दुत एस.जयशंकर तथा भारतीय राजदुत रन्जित रेबीच देखिएको चिसोपनाले सम्बन्ध विस्तार भन्दापनि दरारको स्थिति पैदा भएको छ ।

केही समय अघि भाजपाका बरिष्ठ नेता विजय जोलीले नेपालका भावी प्रधानमन्त्रीको रुपमा बधाई दिएपनि अहिले पछिल्लो राजनीतिक घटनाक्रमले उनलाई प्रधानमन्त्री बन्न त्यति सजिलो छैन । हुन त उनले संविधान जारी लगत्तै आफ्ना विश्वाशिला पात्रलाई सम्बन्ध सुधारको लागि भारत पठाएपनि त्यसले राम्रो नतिजा दिन सकेको छ । संविधानपछि रुष्ट भएको भारतले अघोषितरुपमा नाकाबन्दी गरिसकेको छ । ओलीले सबैभन्दा पहिला भारतसंग सम्बन्ध सुधार गरी कुटनैतिकरुपले नेपालको सीमामा भएको अवरोध हटाउनु प्रमुख चुनौति रहेको छ ।
२.तराई–मधेशको जायज माग पूरा गर्नु
खासगरी सीमाङकन, समावेशी, समानुपातिक निर्वाचन प्रणाली र राज्यको हरेक तहमा समान अवसर माग राख्दै झन्डै दुईमहिनादेखि मधेश ठप्प पार्दै आएका मधेशी दलहरुलाई चित्त बुझाउनु ओलीको लागि फलामको चिउरा चपाए सरह हुनेछ । यसको साथी आदिवासी जनाजाति, अल्पसंख्यक समुह लागायतहरुको हकअधिकार सुनिश्चि गरी उनीहरुको विश्वास लिन त्यति सजिलो छैन ।
३.राजनीतिमा सामूहिक एकता
ओलीको अर्को चुनौति भनेको देशको यस विषम संकटबाट मुलुलाई जोगाउन सबै राजनीतिक दलहरुसंग सामूहिक एकता र निस्र्वाथताको क्षमता प्रदर्शन गर्न सक्नुपर्छ । नयाँ संविधान जारीसंगै फेरिएको संरचनामा विभिन्न राजनीति दलहरुलाई महत्पुर्ण जिम्मेवारी दिन सक्नु उनको चुनौति रहेको छ ।
४.संविधानको कार्यन्वयन
संविधानपछि विधिवतरुपमा मुलुक संघीयतामा प्रवेश गरिसकेको अवस्थामा संघीयताबीचको विवाद, सीमाङकन विवाद, प्रदेशबीचको सम्बन्ध, संघ र प्रदेशबीचको सम्बन्ध तथा संघीय संरचना कायम गरी संविधान कार्यन्वय गर्नु ओलीको अर्को चुनौति रहेको छ ।
५.आन्तरिक अन्तरकलहको अन्त्य गर्नु
केपी ओलीको सफलता र असफलताको मापक आन्तरिक पाटी कसरी व्यवस्था गर्दछन् कुराले पनि फरक पार्दछ । खासगरी नवौं महाधिवेशनपछि एमालेभित्र ओली गुट र नेपाल गुटभित्रको विवाद हल हुन सकेको छैन । पछिल्लो समय विवाद केही मत्थर देखिएपनि नेपाल र ओलीबीचको शक्ति सन्तुलन अझै मिलि सकेको छैन । पाटीभित्र शक्तिशाली रहेका नेपाल गुटलाई ओलीले विश्वास लिन नसके ओलीलाई असफल बनाउने खेल घरभित्रबाटै शुरु हुनेछ । जुन उनको लागि महंगो सावित हुनेछ । यी चुनौतिकाबीच ओलीले राजनीतिक कुशलता प्रस्तुत गरी अप्ठ्यारोमा पुगेको देशको राजनीतिलाई सही ट्रयाकमा ल्याउन सके उनी इतिहासकै नायक बन्न सक्छन् ।
खबर डबलीबाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment