English Edition

खेलाडीलाई ‘एक्सपोजर’ चाहिएको छ : प्रशिक्षक टमाटा

यु–१९ विश्वकपमा स्थान सुरक्षित बनाउँदै राजधानी फर्किएको नेपाली क्रिकेट टोलीले ‘ब्याट्सम्यान र बलरको प्रतिभा तिखार्न’ बाहिर गएर अभ्यास गर्ने चाहना व्यक्त गरेको छ।

मलेसियामा सम्पन्न १९ वर्षमुनिका खेलाडी सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले चार महिनापछि बंगलादेशमा हुने विश्वकपमा भाग लिनेछ। नेपालले यु–१९ विश्वकप खेल्न लागेको यो सातौंपटक हो।

‘विश्वकप तयारीका लागि बाहिर गएर अभ्यास गर्न पाए ब्याट्सम्यान र बलरको प्रतिभा तिर्खान सकिन्छ,’ नेपाली टोलीका कप्तान राजु रिजालले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने। टिमको कडा मेहनत र एकअर्काको सहयोगले यो नतिजा प्राप्त भएको उल्लेख गर्दै उनले यसलाई नयाँ उचाइँ पुर्याउन खेल पदाधिकारी, शुभेच्छुक र सबैको सहयोगको खाँचो रहेको बताए।

प्रतिस्पर्धा कडा भए पनि नेपाली टोलीको आपसी सहयोग र मेहनतले सफलता प्राप्त भएको भन्दै उनले विश्वकपमा राम्रो नतिजा ल्याउन अझै कडा मेहनत चाहिने बताए।

नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले पनि राम्रो अभ्यास गर्न पाए जित नेपालको पक्षमा आउने बताए। ‘अहिलेको टिमका खेलाडीमा गुणस्तर छ, उनीहरूलाई नेपाली जनता, सरकार र राष्ट्रिय खेलकुद परिषदले अवसर दिन्छन् भने दुई वर्षमा राष्ट्रिय टोलीमा जान सक्छन्,’ उनले भने, ‘यिनका लागि ‘एक्सपोजर’ को खाँचो छ।’

प्रशिक्षक टमाटाले छनोट चरणका पाँच प्रतियोगितामा आयरल्यान्ड टप प्रतियोगी भए पनि नेपाली टिमले उत्कृष्ट प्रदर्शन गरेको बताए। ‘हामीले आफ्नो ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘विश्वकप चुनौतीपूर्ण भएकाले बाँकी अवधिमा अन्तराष्ट्रिय स्तरको अभ्यास गर्न जरुरी छ, यसका लागि क्रिकेट संघले ध्यान दिने मैले विश्वास लिएको छु।’

छनोट चरणमा पाँच टिम नेपाल, आयरल्यान्ड, अमेरिका, युगान्डा र पपुवा न्युगिनीले प्रतिस्पर्धा गरेका थिए ।

मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल विजेता टोली बनेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार मध्याह्न आइपुगेको टोलीलाई नेपाल क्रिकेट संघका पदाधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए ।
तस्बिर : कप्तान राजु रिजाल (स्रोत: आइसिसी) सेतोपाटीबाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment