English Edition

महासचिव बान र कोइरालाबीच भेटवार्ता, सीमा अवरोधबारे चिन्ता व्यक्त

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले नेपाली सीमामा भएको अवरोधबारे चिन्ता व्यक्त गर्नुभएको छ। महासचिव बानले पूर्वप्रधानमन्त्री सुशील कोइरालाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बानसंग बुधबार गर्नुभएको भेटवार्ताको अवसरमा सो चिन्ता व्यक्त गर्नुभएको हो।

कोइरालाद्वारा बुधवार प्रकाशित एक वक्तव्यमा जनाइएअनुसार महासचिव बानले सो अवसरमा कोइरालाले संविधान निर्माण तथा नेपालको प्रजातान्त्रिकरणमा खेल्नुभएको भूमिकाको पनि सराहना गर्नुभयो। बानले पुनःनिर्माण प्राधिकरण गठनमा भएको ढिलाईबारे चासो व्यक्त गर्दै प्रजातान्त्रिक प्रक्रियाबाट असन्तुष्ट दलहरुको मागबारे समाधान गर्न पनि सुझाव दिनुभएको छ।

भेटका अवसरमा पूर्व प्रधानमन्त्री कोइरालाले महासचिव वानलाई नेपाल संविधानसभाको माध्यमबाट एउटा समावेशी तथा प्रजातान्त्रिक संविधान जारी गर्न सफल भएको बताउनुभयो। कोइरालाले सो भेटमा बानलाई विगतमा हिंसात्मक र अप्रजातान्त्रिक व्यवहार भएका राजनीतिक दललाई पनि प्रजातान्त्रिक छातामुनि ल्याउन सफल भएकोमा सन्तोष व्यक्त गर्नुभयो।

नेपाली काग्रेसका सभापति पनि रहनु भएका कोइरालाले बानलाई संयुक्त राष्ट्रसङ्घले गत वैशाखको विनाशकारी भूकम्पपछि नेपाललाई पुरयाएको  समर्थन र सहयोगका लागि धन्यवाद पनि दिनुभयो। पूर्वप्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध नेपालमा समावेशी संविधान जारी भएपछि अहिलेको अवान्छनीय मोडमा पुगेकोमा अत्यन्त दुःखित भएको पनि उहाँलाई बताउनुभएको छ।

गत वैशाखको भूकम्पको केही घण्टामा नै हाम्रो उद्धारमा आउने अत्यन्त उदार छिमेकी राष्ट्र् भारत अहिले नेपाल–भारत सीमामा अत्यन्त जरुरी आपूर्तिमा अवरोध हुँदासमेत मौनदर्शक भएर बस्नु अकल्पनीय भएको बताउँदै पूर्वप्रम कोइरालाले त्यसबाट नेपालको अर्थतन्त्रलाई क्षतविक्षत बनाएको, सामाजिक जीवन अस्तव्यस्त बनाएको, विद्यालयहरु बन्द भएका र भूकम्पपीडितको व्यवस्थापन र पुनःनिर्माणलाई अवरुद्ध पारेको बताउनुभएको छ ।

सीमामा भएको नाकाबन्दीले भूकम्पबाट भएको सात अर्ब डलर बराबरको क्षतिभन्दा पनि धेरै बढी र व्यापक क्षति भएको र यसले नेपाललाई मानवीय सङ्कटको अवस्थामा धकेल्नु कसैको हितमा पनि नहुने कोइरालाले उल्लेख गर्नुभयो।

जनतालाई पीडा र कष्ट दिनुले देशमा उग्रवादलाई बढावा दिने भएकाले दक्षिण एसिया आतङ्कवादको तारो बनिरहेको सन्दर्भमा यो अवस्थाले यस क्षेत्र र वरपरको स्थितिलाई नाजुक बनाउने र यो कसैको हितमा पनि नहुने पनि उहाँले बताउनुभयो।

कोइरालाले पहाडी र मधेसी भनी विभिन्न जातजातिबीच विभाजनको रेखा कोरिनु ज्यादै चिन्ताजनक भएको पनि बानलाई बताउनुभयो। पूर्व प्रधानमन्त्री कोइराला आफ्नो स्वास्थ्य परीक्षणको सिलसिलामा अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ । रासस
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment