English Edition

गृहमन्त्रीले माफी मागे

काठमाडौँः गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको नाममा असम्बन्धित व्यक्तिलाई चीन भ्रमण गराएको विषयमा आत्मआलोचना गरेका छन् ।

एकीकृत नेकपा (माओवादी)को पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा सोमबार  बसेको केन्द्रीय समितिको बैठक सुरु हुने बित्तिकै एमाओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्री शक्ति बस्नेतको राजीनामा मागे । बैठक सुरु हुनेबित्तिकै प्रचण्डले भने, ‘लिखित रुपमा आत्मआलोचना गर्नुहोस् वा राजीनामा दिनुहोस् ।’

प्रचण्डले यस्तो निर्देशन दिए लगत्तै गृहमन्त्री बस्नेतले लिखित रुपमै माफी मागे । बस्नेतको लिखित माफीमा भनिएको छ, ‘भूकम्पपीडितका नाममा असम्बन्धित व्यक्तिलाई चीन पठाएको विषयमा भएको गल्तीप्रति आत्मआलोचना गर्छु र आगामी दिनमा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

बैठकमा अध्यक्षसँग माफी मागेसँगै गृहमन्त्री बस्नेतले आफ्नो ध्येय र जोड भूकम्प प्रभावित १४ जिल्लाका नागरिक, तल्लास्तरका पार्टी कार्यकर्ता नै चीन भ्रमणमा जाउन भन्ने रहेको उल्लेख गरेका छन् । उनले आफन्तलाई चीन भ्रमण पठाएर गर्नै नहुनुपर्ने गल्ती भइसकेको समेत स्वीकार गरेका छन् । भूकम्पपीडितको कोटामा एमाओवादी अध्यक्ष दाहालका नातिनी र गृहमन्त्री बस्नेतका छोरी र भतिजीलगायत नजिकका आफन्त चीन भ्रमणमा पठाइएकोप्रति गृहमन्त्रीलाई प्रचण्डले स्पष्टिकरण सोधेका थिए ।

एमाओवादीको स्थायी समितिको बैठकमा समेत सरकारमा सहभागी मन्त्रीको कार्यशैली गलत र अमर्यादित रहेको भन्दै चर्को आलोचना भएको थियो । पार्टी प्रवक्ता दिनानाथ शर्माका अनुसार कार्यशैलीलगायतका विषयमा गृहमन्त्री बस्नेतले आफ्नो धारणा राखेको र आगामी दिनमा गल्ती नगर्ने प्रतिबद्धता जनाएको बताए ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा नेता हेमराज भण्डारी, गङ्गाबहादुर कार्कीलगायतले एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कार्यशैलीले पार्टीको साख गिरेको भन्दै फिर्ता बोलाउनुपर्ने माग गरेका थिए । सोही मागबमोजिम अध्यक्ष दाहालले चीन भ्रमण प्रकरण छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए ।

सरकार सञ्चालन तथा समन्वय समितिका संयोजक एवम् उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीको कार्यशैली परम्परागत भएको, आफूखुसी गरेको भन्दै सो समिति भङ्ग गर्न माग गरेका थिए । सोही मागबमोजिम सबै मन्त्रीलाई राखेर अध्यक्ष दाहालले पार्टीको निर्देशनभन्दा बाहिर गएर कुनै काम नगर्न, आफूखुसी निर्णय नगर्न तथा पार्टीको साख गिर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका छन् ।

सोमबारको बैठकमा उपाध्यक्ष श्रेष्ठ, सचिव गिरिराजमणि पोखरेल, नेता सन्तु दराईलगायतले धारणा राखेका थिए । यही मङ्सिर १५ गतेबाट सुरु भएको बैठक आगामी पुस ४ गतेसम्मका लागि स्थगित भएको छ ।

बैठकमा पार्टीका नेताले उठाएका विभिन्न प्रश्नको जवाफ दिने कार्यक्रम रहेको पार्टी कार्यालयका सचिव जोखबहादुर महराले जानकारी दिए । रासस

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment