English Edition

२४ नेपाली भारतमा बन्दी, रिहाइको माग

काठमाडौँ-विभिन्न राजनीतिक दलका नेता, मानवअधिकारकर्मी र अधिवक्ताले संयुक्त रूपमा भारतको हरियाणा राज्यमा बन्दी बनाइएका २४ नेपाली नागरिकलाई तत्काल निःसर्त रिहाइको माग गरेका छन् ।

सत् साहित्य सेवा समाजले शनिबार आयोजना गरेको अन्तरक्रियामा उनीहरूले करिब एक वर्षअघि भारतको सत्लोक आश्रममा आयोजित सत्संगका क्रममा हरियाणाका प्रहरीले अन्यायपूर्ण र अमानवीय रूपमा धरपकड गरी नेपालीलाई कारागारमा बन्दी बनाएको भन्दै जतिसक्दो चाँडो रिहाइ गर्न आग्रह गरेका हुन् ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले हरियाणाको आश्रममा भएको घटना हरियाणा राज्यले मात्र नभई भारतीय सरकारले नै सुनियोजित ढङ्गबाट गराएको बताए । पूर्व सभासद् कुलप्रसाद उप्रेतीले निर्दोष नेपाली भक्तजनमाथि निर्मम यातना दिई धार्मिक आस्थामा बन्दी बनाई कारागार हाल्नु गलत भएको भन्दै रिहाइका लागि सम्पूर्ण नेपाली एक जुट हुनुपर्ने धारणा राखे ।

यसअघि ती बन्दी नेपालीलाई मुक्त गराउन पीडितपरिवार तथा विभिन्न सङ्घ संस्थाले राष्ट्रिय मानवअधिकार आयोग, मावनअधिकारवादी सङ्घ संस्था, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावास र भारतीय दूतावासमा पटकपटक गुनासो गर्दासमेत सुनुवाई नभएको पीडित परिवारको भनाइ छ ।

कारागारबाट धरौटीमा छुट्नुभएका इटहरीका मुकेश कार्कीले कैयौँ परिवारको एक मात्र कमाउने व्यक्ति कारागारमा रहेकाले बिहान बेलुकाको छाक टार्न कठिन भैरहेको बताए । मानव अधिकारकर्मी भवानी खरेल, वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्ले, मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र मानव अधिकार पत्रकार सङ्घका अध्यक्ष छत्र शङ्कर लगायतले बन्दी नेपालीलाई तत्काल रिहाइको माग गरे । रासस
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment